Aamsanchar

आज हरितालिका तीज, शिवालयहरूमा महिलाको घुइँचो

Author Image
बुधवार, भदौ २७, २०७५

काठमाडौ‌ं ,

भाद्र शुक्ल तृतीया अर्थात् तीज। सनातन धर्मावलम्बी महिलाहरू उमामहेश्वरको व्रत तथा पूजा–आराधना गरी मनाउँदैछन्।

महिलाहरू आफ्नो पायक पर्ने शिवालयमा पुगी पूजाअर्चना गर्छन्। बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने परम्परा छ। हिमालय र मेनाकी पुत्री पार्वतीले निराहार व्रत बसी कठिन तपस्या गरेको र महादेव पति पाएको पौराणिक कथन छ।

त्यसैले यसरी व्रत बस्दा मनोकांक्षा सिद्ध हुने विश्वासमा महिलाहरू तीजको व्रत बस्छन्। विवाहिताहरूले आफ्ना पति छोराछोरीको सुस्वास्थ्यको कामना गर्ने र अविवाहिताहरूले असल पतिको कामनामा व्रत बस्ने विश्वास गरिन्छ।

काठमाडौंस्थित पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर, सिन्धुलीको कुशेश्वर, सिन्धुपाल्चोकको फटकेश्वर, दोलखाको भीमेश्वरलगायत शिवालयमा श्रद्धालुको घुइँचो लाग्छ। सामाजिक रूपमा पनि तिजको ठूलो महत्त्व छ।

तिजका लागि माइतीले चेलिबेटीलाई निम्तो गर्ने, सम्भव भएसम्म सबै दिदीबहिनीहरू एकै थलोमा जम्मा हुने, अघिल्लो दिन बेलुकी मिठामसिनो (दर) खाने गर्छन्। तीजका दिन नाचगान गरी घरव्यवहारमा पाएका दुःखकष्टलाई गीतमा उतार्ने गर्छन्।

तीजका बेला सौभाग्यका सूचक राता वस्त्र तथा आभूषण लगाउने चलन छ। तर अचेल दर खाने नाममा एक महिनाअघिदेखि तडकभडक गर्ने, तिजकाे गीतमा उच्छृंखल शब्दकाे प्रयोग गर्ने र भड्किला पोशाक लगाउने चलन बढेको भन्दै संस्कृतिका जानकार चिन्ता व्यक्त गर्छन्।

‘तीज आउन महिना दिन अगाडि नै विभिन्न खालका राजसी भोजन खाने चलन छ’, स‌ंस्कृतिविद् कान्ता भट्टराई भन्छिन्, ‘आजभोलिको तीजमा महिलाहरूले गरगहना तथा कपडा प्रदर्शन गर्ने गरेका पाइन्छ।’

Views: 309

प्रतिक्रिया (०)

सम्बन्धित खबर