Aamsanchar

इन्धन उपलब्ध गराउन आग्रह

Author Image
शुक्रवार, असोज ५, २०७५

काठमाडौँ, 

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको वितरणमा केही असहज अवस्था सिर्जना भएको भन्दै सवारीसाधनलाई तोकिएको कोटा मात्र इन्धन उपलब्ध गराउन आग्रह गरेको छ ।

निगमले नेपाल पेट्रोलियम डिलर्स एशोसिएशन र वाग्मती पेट्रोलियम डिलर्स एशोसिएशनलाई आज पत्राचार गर्दै तोकिएको कोटाअनुसारको इन्धन उपलब्ध गराउन अनुरोध गरेको हो । निगमका अनुसार मोटरसाइकल र स्कुटरलाई बढीमा पाँच लिटर पेट्रोल उपलब्ध हुनेछ । हलुका सवारीसधान, कार र भ्यानलगायतलाई बढीमा १५ लिटर पेट्रोल उपलब्ध गराइने निगमले जनाएको छ ।

निगमले डिजेलबाट सञ्चालन हुने मध्यम तथा छोटो दूरीका सवारीसाधनलाई बढीमा ५० लिटर र लामो दूरीको सवारीसाधनलाई बढीमा १०० लिटरसम्म उपलब्ध गराउन आग्रह गरेको छ । एम्बुलेन्स, विद्यालयका बस तथा सरकारी सवारीसाधनलगायत अत्यावश्यक सवारीसाधनलाई उच्च प्राथमिकतामा राखी इन्धन बिक्री वितरण गर्न एशोसिएशनलाई अनुरोध गरिएको निगमका प्रवक्ता इञ्जिनीयर वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।

ट्याङ्कर चालकले विभिन्न माग राखी इन्धन ढुवानी नगर्दा मुलुकभर पेट्रोलियम पदार्थको हाहाकार भएको छ । तीन दिनदेखि इन्धनको ढुवानी ठप्प छ । आज पनि काठमाडौँका अधिकांश पेट्रोल पम्प बन्द छन् । इन्धन भर्नका लागि पेट्रोलपम्पमा लामो लाइन लागेको छ । इन्धनको अभाव हुँदा उपत्यकाका सडकमा तुलानात्मकरुपमा केही कम सवारीसाधन सञ्चालनमा छन् ।

Views: 146

प्रतिक्रिया (०)