Aamsanchar

बलात्कार र महिला हिंसाविरुद्ध झापामा शुरु भयो आत्मरक्षा तालिम

Author Image
शुक्रवार, असोज १२, २०७५

एक सय जना बालिका, किशोरी र युवती सहभागी

बिर्तामोड।


बढ्दो बलात्कार र हिंसाबाट बच्न बालिका, किशोरी र युवतीले कसरी आत्मरक्षा गर्ने रु यसबारे ज्ञान र सीप सिकाउन आज शुक्रबारबाट झापाको बिर्तामोडमा बालिका, किशोरी र युवतीलाई आत्मरक्षा बारे तालिम दिन थालिएको छ ।

वीरता जेसीज, लेट्स रन नेपाल र सितोरियो कराँते–डो झापाको संयुक्त आयोजनामा पहिलो चरणमा आत्मरक्षा बारे दुई दिने तालिम बिर्तामोडको अतिथि सदनमा शुरु भएको हो ।

वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको तालिमको उद्घाटन प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतारा प्रसाईले गरेकी थिइन् । तालिममा झापाका १०० जनाको सहभागिता छ ।

महिला हिंसाबारे चेतना जगाउने र परिआए प्रतिकार गर्न सक्ने बनाउने उद्देश्यले सञ्चालित तालिममा कुन संवेदनशील अंगमा प्रहार गर्दा आफू उम्किन सकिन्छ र गोप्य अंगको सुरक्षाका लागि के गर्ने भन्ने सिकाइँदैछ ।


तालिममा सहभागी बालिका, किशोरी र युवतीलाई विज्ञ टोलीले प्रशिक्षण दिएको छ । तालिममार्फत शारीरिक प्रतिरक्षाका साथै महिला हिंसाका कारण, कानूनी उपचार र अन्यायमा परे कसरी न्यायका लागि लड्न सकिन्छ भन्ने विषयमा पनि परामर्श दिइँदै छ ।

धम्क्याएर बलात्कार प्रयास भए प्रतिरक्षाका लागि किशोरीको मनोबल उच्च पार्न के–कस्ता उपाय अपनाउन सकिन्छ भन्नेबारे किशोरीलाई सिकाइएको छ । आत्मबल उच्च राखेर तत्काल उम्कन सकिने गरी आक्रमण गर्ने तरिकाका विषयमा शारीरिक प्रशिक्षण दिइँदैछ ।

आफ्नो क्षमता आफूले पहिचान गर्ने, हिंसाका किसिम के–के हुन्, परिस्थितिजन्य अवस्थामा आफूलाई कसरी सुरक्षित गर्न सकिन्छ र कानुनी उपचारका लागि कहाँ जाने भन्ने विषय प्रशिक्षणका मूल सिकाइ भएको बताइएको छ । कसरी सुरक्षित हुने भन्ने शारीरिक र मानसिक उपायबारे पनि सिकाइरहेको बताइएको छ ।


लेट्स रन नेपालका अध्यक्ष पवन शिवाकोटीले औचित्य माथि प्रकाश पारेको तालिममा अधिवक्ता कोपिला खड्का बस्नेत, कराते तर्फ सार्क स्वर्ण पदक विजेता मिना पाठक उप्रेती, रजत पदक विजेता दुर्गाराज निरौला, राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक दिपेश निरौला र अर्का प्रशिक्षक अशोक राईले सहभागीलाई प्रशिक्षण दिइरहेका छन् ।


मन्तव्य राख्दै कार्यक्रमकी प्रमुख अतिथि उपमेयर महतारा र इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख कृष्णप्रसाद कोइराला, सितोरियो कराते डो झापाका वरिष्ठ प्रशिक्षक मदन उप्रेतीले बलात्कार र महिला हिंसाको वर्तमान अवस्थाबारे जानकारी गराउँदै आत्मरक्षाका लागि आयोजित तालिम महत्वपूर्ण भएको बताए ।
वीरता जेसीजका महासचिव विनोद पाण्डेले सञ्चालन गरेको कार्यक्रममा स्वागत तालिम संयोजक विकास बस्नेत, जेसीज आस्था वाचन शाखा सम्पादक तुलसीप्रसाद निरौला र जेसीआई मिसन भिजन वाचन उपाध्यक्ष युवराज कुँवरले गरेका थिए ।

कार्यक्रममा महिला मुक्ति अभियानकी अध्यक्ष राधा सुब्बा, एजुकेशन एण्ड माइग्रेशन कर्नरका अग्नि प्रसाई, क्याम्ब्रिज इन्स्टीच्युट अफ टेक्नोलोजीका निश्चल सिंखडा, साहित्यकार भगवती ढुंगेल लगायतको आतिथ्य रहेको थियो ।

Views: 184

प्रतिक्रिया (०)

सम्बन्धित खबर