शान्तिनगर,
झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा जारी प्रथम धारागोला भ्यूटावर गोल्डकप फुटबल प्रतियोगिताको उपाधीका लागि आयोजक धारागोला फुटबल क्लब र गोधुली युवा क्लब धाईजन भिड्ने भएका छन् ।
मंगलबार धारागोला खेल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा बहुवन युवा क्लब इलामलाई टाईब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै धाईजनले फाइनलमा आयोजकसंग भेट पक्का गरेको हो ।
मंगलबारको खेलको निर्धारित समय बहुवन र धाईजनले गोल रहित बराबरी खेलेका थिए । निक्कै प्रतिस्पर्धात्मक भएको खेलमा दुबै टोलीले गोल गर्ने अवसर पाएपनि गोल गर्न सकेनन् ।
निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाईब्रेकरमा धाईजनले बाजी मारेको हो । मंगलबारको खेलको म्यान अफ द म्याच बिजयी टिमका गोल किपर राजकुमार लावती घोषित भए ।
उनलाई स्वर्गीय रबिन्द्रमाया लावतीको स्मृतिमा छोरी मनिमा लावतीले संयोजन गरेको पुरस्कार मनिमाकी छोरी श्वेता लिम्बुले प्रदान गरिन् । फाइनल खेल असोज १८ गते बिहिबार हुनेछ । खेल दिउँसो २ बजेबाट हुने आयोजक समितिका सचिब शष्टकुमार राईले जानकारी दिए । यसका साथै सोही दिन बुद्धशान्ति गाउँपालिका र आयोजक समितिका पदाधिकारीबिच मैत्रिपुर्ण खेल हुने आयोजक समितिले जनाएको छ ।
पछिल्लो समय चर्चामा रहेको प्रमुख पर्यटकीय स्थल धारागोला भ्यूटावरको प्रचार–प्रसारका साथै स्थानीय स्तरबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सहयोग पुर्याउने र खेल मैदानको स्तर उन्नती गर्ने उद्धेश्यले सो फुटबल प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका अध्यक्ष धनमान लिम्बुले जानकारी दिए ।
प्रतियोगिताको बिजेताले नगद ३० हजार रुपैयाँ ट्रफि, प्रमाणपत्र र उपबिजेता टोलीले नगद २० हजार रुपैयाँ, ट्रफि प्रमाण–पत्र प्राप्त गर्नेछ । असोज ३ गते देखि १८ गतेसम्म आयोजित प्रतियोगितामा झापा र इलामका गरि १६ वटा टोलीले सहभागिता जनाएका थिए ।