Aamsanchar

आपराधिक घटना नियन्त्रण गर्न माग

Author Image
शनिवार, असोज २०, २०७५

काठमाडौँ, 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) असन्तुष्ट समूहले मुलुकमा पछिल्लो समय बढेको महिला हिंसा, बलात्कारजस्ता घटनाको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेको छ ।

सो समूहका संयोजक युवराज सफलले आज गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै शान्तिपूर्ण तरिकाले बाँच्न पाउने नागरिक अधिकारको रक्षा गर्दै निर्मला पन्त र उनीजस्तै अन्य पीडितलाई न्याय दिलाउन र दोषीलाई कारवाही गर्न माग गर्नुभयो ।

यस्तै सो समूहले समयमै काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई कालोसूचीमा राखी निर्माण सम्पन्न नगर्ने ठेकेदार र सो कम्पनीलाई अविलम्ब कारवाही गरी निर्माण सम्पन्न नगरेकोमा क्षतिपूर्तिसमेत तिराउन माग गरेको छ ।

चाडबाडको समयमा हुने कालाबजारी, मूल्यवृद्धि र सामानको कृत्रिम अभाव सिर्जना भएको भन्दै सो समूहले गैरकानूनी काम गर्नेलाई कानूनी दायरामा ल्याउनसमेत आग्रह गरेको छ ।

नेपाल भारत सीमा क्षेत्रमा अपराधी घटना बढेको भन्दै नागरिकको जीउधनको सुरक्षा गर्नसमेत माग गरिएको संयोजक सफलले जानकारी दिनुभयो ।

Views: 214

प्रतिक्रिया (०)