वीरगन्जः

नेपालीभूमि भित्र छिरेर बालुवा तस्करी गरेका भारतीयले नेपाली सुरक्षाकर्मीलाई आक्रमण गरेर घाइते बनाएका छन् । पर्साको पिडारीगुठी गाविस ६ पाण्डेपुरमा पर्ने ओरीया खोलामा शनिवार दिउँसो अवैध रुपमा बालुवा उत्खनन् गरिरहेका भारतीयलाइ रोक्न गएका नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि आक्रमण भएको हो ।

भारतीयको आक्रमणबाट पर्साको भीखमपुरमा रहेको सशस्त्र प्रहरी बोर्डर आउट पोष्टमा कार्यरत सशस्त्र प्रहरी जवान रत्नेस साह घाइते भएका हुन् । उनको देब्रे हात गम्भिर चोट लागेको छ । घाइते सशस्त्र प्रहरी जवान साहको चोट लागेको हातमा तीन वटा टाँका लगाइएको सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर थापाले बताए ।
शनिबार दिउँसो नेपाल भारत सीमाको दशगजा क्षेत्रबाट नेपाल तर्फ दुई सय ५० मिटर भित्र पसेर ओरीया खोलामा ५०÷६० भारतीयले ५÷६ वटा टयाक्टरमा बालुवा लोड गरिरहेका थिए ।

स्थानीय नेपालीले प्रहरीलाइ खबर गरेपछि सशस्त्र प्रहरी बोर्ड आउट पोष्ट भीखमपुरमा सशस्त्र प्रहरी नायब निरीक्षक हरिप्रसाद लम्साल, प्रहरी चौकी पाण्डेपुरबाट प्रहरी सहायक निरीक्षक गोपाल खड्का र प्रहरी चौकी पिडारीगुठीबाट प्रहरी सहायक निरीक्षक राजकुमार घलानको नेतृत्वमा १७ जना सशस्त्र र नेपाल प्रहरी ओरीया खोलामा पुगेका थिए ।

प्रहरीले नेपाली भूमीबाट बालुवा उत्खनन् गर्न आग्रह गरेपछि भारतीयले लठ्ठी र साबेलले आक्रमण गरेको सशस्त्र प्रहरी उपरीक्षक थापाले बताए । भारतीयको आक्रमणबाट सशस्त्र प्रहरी जवान साह घाइते भएको उनले बताए । भारतीयले आक्रमण गरेपछि नेपाली सुरक्षाकर्मीले लठ्ठी चार्ज गरेपछि भारतीय भागेको र घटनास्थलबाट बालुवा तस्करीमा प्रयोग गरिएको भारतीय आइचर टयाक्टर र बी आर २२ एन २०२८ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
दुवै सवारी साधन सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट भीखमपुरमा राखिएको सशस्त्र प्रहरी उपरीक्षक थापाले जानकारी दिए । एक वर्ष पहिले पनि ओरीया खोलामा बालुवा उत्खनन् गर्ने क्रममा भारतीयहरुले नेपाल प्रहरीलाइ कुटपिट गरेका थिए । भारतीयहरुले समाचार संकलन गर्न गएका पत्रकारमाथि पनि आक्रमणको प्रयास गरेका थिए । नेपाली भूमीमा पर्ने ओरीया खोलाबाट भारतीयहरुले वर्षा देखि बालवा उत्खनन् गरेर भारत तर्फ तस्करी गर्दै आएका छन् ।

