उदयपुर ।

उदयपुरको उदयपुरगढी गाउँपालिका मौवासीकी ७५ वर्षीया रेश्मा राईलाई मलमुत्र खुवाएर यातना दिने छिमेकीलाई बिहीबार बिहान पक्राउ गरिएको छ ।

पक्राउ पर्नेहरुमा छिमेकी ५० वर्षीय बक्ते राई, उनकी ४७ वर्षीया श्रीमती गर्भी र छोरा ३२ वर्षीय देवबहादुर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले बक्ते, उनकी श्रीमती गर्भी र छोरा देवबहादुरलाई पक्राउ गरेको प्रहरी निरीक्षक ललनप्रसाद राउतकुर्मीले जानकारी दिए ।
पशु चौपाया छाडा छोड्दा आफनो बाली नष्ट भएको गुनासो गर्न पुगेकी बृद्धा रेश्मालाई ३ दिनअघि छिमेकी बक्तेको परिवारले कुटपिट गर्दै मान्छेको मलमुत्र खुवाएका थिए । कुटपिटबाट बृद्धा रेश्माको दायाँ आँखामा गम्भीर चोट लागेको छ ।

उनको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको प्रहरी निरीक्षक कुर्मीले वताए ।
Views: 139

