भद्रपुर ।
न्यु स्टार फुटबल क्लव खोपबारी भद्रपुरमा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । न्यु स्टार खोपबारी शनिवार हुने फाइनल खेलमा उपाधीका लागि रेड स्टार बिर्तामोडसंग भिड्ने छ ।
भद्रपुर माविको खेल मैदानमा विहीवार भएको अन्तिम सेमीफाइनल खेलमा मुनाल क्लव चन्द्रगढीलाई शुन्यको विरुद्ध एक गोल अन्तरले पराजित गर्दै न्यु स्टार खोपबारी फाइनलमा प्रवेश गरेको हो । उपाधीको दावेदार मानिएका मुनाल क्लवलाई खेलको अन्तिम समयमा न्यु स्टार खोपबारीले स्तब्ध बनाए । पहिलो हाफ्मा दुवै टिमले आक्रमक पारी खेले पनि न्यु स्टारले मुनालमाथि लगातार दवाव बनाइ राखे । पहिलो हाफ बराबरीमा खेल टुंगिएका थिए ।
खेलको ४२ औ मिनेटमा न्यु स्टारका जर्सी नम्बर १४ का सनम लिम्बुले डि वक्स भित्र प्रहार गरेको बल मुनालका गोलकिपर दिपाशु राउतले रोक्ने क्रममा फुत्किएपछि जर्सी नम्बर १२ का प्रविन राईले जाली चुमाउँदै टिमलाई अग्रता दिलाए । उनले गरेको गोल नै निर्णायक गोल बने । खेलको ५९ औ मिनेटमा न्यु स्टारका प्रविन राईले पहिलो कार्ड पाएपछि खेलको म्यान अफ द म्याच सनम राईले घोषित भए । उनलाई उद्योगी जेपी शर्माले नगद २५ सयले पुरस्कृत गरेका थिए ।
बडादशै, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै रोयल क्लव भद्रपुरद्धारा आयोजित प्रतियोगितामा विजेता टिमलाई नगद ५० हजार र उपविजेता टिमलाई नगद ३० हजारसहित शिल्ड तथा ट्रफि प्रदान गरिने आयोजक समितिका संयोजक सन्तोष क्षेत्रीले जानकारी दिए । प्रतियोगितमा आठ वटा टिमले सहभागिता रहेको सदस्य सौरभ श्रेष्ठले बताए ।