Aamsanchar

सरकारले छान्यो १०० नयाँ पर्यटकीय गन्तब्य, झापाका चारवटा समावेश

Author Image
शनिवार, कार्तिक १७, २०७५

नरेन्द्र ढकाल/ बिर्तामोड ।

सरकारले सार्वजानिक गरेको नयाँ पर्यटकीय क्षेत्रमा झापाका चारवटा स्थानलाई समावेश गरिएको छ । पर्यटकीय क्षेत्र विस्तार गर्नका लागि नयाँ गन्तव्यहरुको पहिचान गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सय ओटा नयाँ गन्तव्यहरुको सुची सार्वजनिक गरेको छ ।

झापाका बाँसबारी सिमसार पर्यटन पूर्वाधार केन्द्रलाई स्थापित तथा प्रर्वद्धन गर्नुपर्ने गन्तब्यमा र नेत्रलाल पार्क बिर्तामोड, गौरादह कृषि पर्यटन क्षेत्र र अर्जुनधारा पर्यटकीय क्षेत्रलाई नयाँ तथा विकास गरिनुपर्ने गन्तब्यको रुपमा समावेश गरेको छ ।

सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउँदै सो वर्ष २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष सरकारले राखेको छ । पर्यटकहरुका लागि सिमित गन्तब्यमात्र हुँदा बसाई अवधि छोटो रहने गरेको र प्रचुर संभावनाका बावजुत स्थानीयस्तरमा पर्यटनको लाभ उपलब्ध हुन नसकेको अवस्था हटाउन यस्तो सूची सार्वजनिक गरिएको हो । सूचीमा ७७ वटै जिल्लाका विभिन्न नयाँ स्थानलाई समेटिएको छ ।

चालु आर्थिक वर्ष २०७५÷७६ को बजेट वक्तब्यमा मुलुकमा नयाँ पर्यटकीय गन्तब्य पहिचान गर्ने र ती क्षेत्रको पूर्वाधारलगायत विकासका लागि बजेट विनियोजन गर्ने उल्लेख गरिएको थियो । पर्यटन प्रवर्दनका लागि नयाँ गन्तब्य पहिचाहन गर्न पर्यटन मन्त्रालयले संभावित स्थानबारे जानकारी दिन प्रस्ताव आह्वान गरेको थियो । सोही अनुरुप प्राप्त आवेदन र अन्य विभिन्न जानकारीका आधारमा नयाँ गन्तब्य तोकिएको मन्त्रालयले जनाएको छ ।

झापामा रहेको ऐतिहासिक स्थल किच्चक बध, केचना कबल, सतासिधाम, मिनिमाउण्टेन, लगायतका विभिन्न स्थानहरु रहेपनि चारवटा मात्र नयाँ गन्तब्यको रुपमा सुचिकृत भएका छन् । ओझेलमा परेका एक सय वटा नयाँ पर्यटकीय गन्तव्यलाई प्रर्वधन गर्ने उद्धेश्यले नयाँ गन्तब्यहरु समावेश गरेको जनाइएको छ ।

यी गन्तब्य नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकारबाट सिफारिस गरिएकाहरु हुन् । नयाँ पर्यटकीय गन्तव्यका लागि ६ सयभन्दा बढी स्थानहरु प्रस्तावित थिए । त्यसमध्ये कुन गन्तब्यलाई सयवटा भित्र समेटेर प्रवर्द्धन गर्ने भन्नेबारे मन्त्रालयले विभिन्न आधार तय गरेको थियो ।

मन्त्रालयकाका अनुसार नयाँ छनोट भएका भएका पर्यटकीय गन्तब्यहरु निजी क्षेत्र, स्थानीय सरकार र स्थानीय बासिन्दाको पनि सहयोग लिएर घुम्नयोग्य बनाइनेछन् । यी पर्यटकीय गन्तब्यको विकासमा सरकारले यसै वर्षबाट बजेट खर्च गर्न सुरुआत गर्ने बताइएको छ । नयाँ गन्तब्य प्रवर्द्धन गर्न सरकारले ५० करोड रुपैयाँ छुट्याएको थियो ।

पुरातात्विक सम्पदा, ठूला तालतलैया वा पोखरी, सम्भावित भए पनि चर्चा नपाएका, भौतिक पूर्वाधार र सेवासुविधाको अभावले ओझेलमा परेका पर्यटकीय गन्तव्यहरुलाई नयाँ पर्यटकीय स्थलका रुपमा विकास गर्ने गरी छनोट गरिएको हो । पछिल्लो समय आन्तरिक पर्यटकहरु समेत देशका विभिन्न नयाँ–नयाँ स्थानमा घुम्न जाने क्रम बढेदै गइरहेका बेला सरकारले पर्यटकीय क्षेत्र नै घोषणा गरेपछि ती स्थानमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्ने अपेक्षा राखेको सरकारले जनाएको छ ।

यी हुन् प्रदेश–१ का नयाँ गन्तब्यहरु :

झापाको स्थापित तथा प्रर्वद्धन गर्नुपर्ने गन्तब्यको रुपमा बाँसबारी सिमसार पर्यटन पूर्वाधार केन्द्र,लाई समावेश गरेको छ भने नयाँ तथा विकास गरिनुपर्ने गन्तब्यको रुपमा नेत्रलाल पार्क बिर्तामोड, गौरादह कृषि पर्यटन क्षेत्र र अर्जुनधारा पर्यटकीय क्षेत्र रहेका छन् । त्यस्तै ताप्लेजुङको स्थापित तथा प्रर्वद्धन गर्नुपर्ने गन्तब्यमा पाथीभरा, फुङफुङे झरना र नयाँ तथा विकास गरिनुपर्ने गन्तब्यको रुपमा तिङबुङ पोखरीलाई समावेश गरिएको छ ।

त्यस्तै पाँचथरको फिदिम नगरपालिकामा रहेको गुरु फाल्गुनान्द सर्किट (लोब्रे कुटी– गजुरमुखी धाम–लाराम्मा–चुक्कीनाम्बा) लाई नयाँ तथा विकास गरिनुपर्ने गन्तब्यको रुपमा समावेश गरिएको छ । यता इलममा सन्दकपुर–माइपोखरीलाई स्थापित तथा प्रर्वद्धन गर्नुपर्ने गन्तब्यको रुपमा र फिक्कल–कन्याम–श्रीअन्तु सर्किटलाई नयाँ तथा विकास गरिनुपर्ने गन्तब्यको रुपमा समेटेको छ ।

तेह्रथुमको तीनजुरे–मिल्के–जलजले क्षेत्रलाई नयाँ तथा विकास गरिनुपर्ने गन्तब्यको रुपमा समेटेको छ भने संखुवासभाको अरुण उपत्यकालाई स्थापित तथा प्रर्वद्धन गर्नुपर्ने र बालेश्वोर ऐतिहासिक गुफालाई नयाँ तथा विकास गरिनुपर्ने गन्तब्यको रुपमा समावेश गरेको छ ।

धनकुटाको भेडेटार नमस्ते झरनालाई स्थापित तथा प्रर्वद्धन गर्नुपर्ने गन्तब्य र हलदे पकेटडाँडा पर्यटक ट्रेललाई नयाँ तथा विकास गरिनुपर्ने गन्तब्यको रुपमा सुचिकृत गरेको छ । भोजुरको ट्याम्के डाँडालाई नयाँ तथा विकास गरिनुपर्ने गन्तब्यको रुपमा समेटिएको छ ।

यता खोटाङको हलेसी महादेवलाई स्थापित तथा प्रर्वद्धन गर्नुपर्ने गन्तब्य, बराह पोखरीलाई नयाँ तथा विकास गरिनुपर्ने गन्तब्यको रुप सरकारले समावेश गरेको छ । सोलुखुम्बुको स्याङबोचे र सगरमाथालाई स्थापित तथा प्रर्वद्धन गर्नुपर्ने गन्तब्यमा राखिएको छ भने पाँचपोखरीलाई नयाँ तथा विकास गरिनुपर्ने गन्तब्यको रुप समेटिएको छ ।

प्रदेश–१ कै ओखढुङगामा रहेको पोकली झरनालाई स्थापित तथा प्रर्वद्धन गर्नुपर्ने गन्तब्यमा राखिएको छ । यता थोलेदम्बा डाँडालाई नयाँ तथा विकास गरिनुपर्ने गन्तब्यको रुपमा सुचिकृत गरिएको छ ।

उदयपुरको उदयपुरगढीलाई पनि नयाँ तथा विकास गरिनुपर्ने गन्तब्यको रुपमा समावेश गरिदाँ मोरङको धनपालगडी पर्यटकीय क्षेत्रलाई नयाँ तथा विकास गरिनुपर्ने गन्तब्यको रुपमा समेटिएको छ । र सुनसरीको कोशिटप्पु वन्यजन्तु आरक्ष, बराह क्षेत्र र तलतलैयालाई स्थापित तथा प्रर्वद्धन गर्नुपर्ने गन्तब्यमा समेटिएको छ भने पिण्डेश्वर–दन्तकाली पदमार्गलाई नयाँ तथा विकास गरिनुपर्ने गन्तब्यको रुपमा सरकारले समेटेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर