काठमाडौँ,
पूर्वराष्ट्रिय च्याम्पियन भोजपुरका विकास श्रेष्ठ र नेपाल पुलिसका विष्णु कटुवालले योनेक्स सनराइज आठौँ पुष्पलाल स्मृति राष्ट्रिय खुल्ला ब्याडमिन्टन च्याम्पियनसिपमा विजयी शुरुआत गरेका छन् ।
विकासले ज्येष्ठ ब्याडमिन्टन एकेडेमीका पेम्बा शेर्पालाई २१–१०, २१–१२ ले तथा विष्णुले सुर्खेतका रोहित मल्ललाई २१–१०, २१–६ ले पराजित गरे ।
यस्तै एपिएफका सुनिल जोशी, सुदीप सेढाईं र साजनकृष्ण ताम्राकारले पनि पहिलो दिन जीत निकाले । सुनिलले सुर्खेतका नरेन्द्र ठकुरीलाई २१–१२, २१–९ ले सुदीपले ज्येष्ठ ब्याडमिन्टनका सुजन थापालाई २१–१३, २१–१७ तथा साजनले ललितपुरका मोहन गुरुङलाई २१–१८, २१–११ ले पाखा लगाए ।
पहिलो चरणको जीत निकाल्ने क्रममा पुलिसका निरविक्रम देवकोटाले बाँकेका इरफान अन्सारीलाई २१–१३, २१–११ ले, सेनाका रुकेश महर्जनले ज्येष्ठका अखिल श्रेष्ठलाई २१–१३, २१–१५, एपिएफका बिजित थापाले ज्येष्ठका अर्जुन तामाङ्लाई २१–११, २१–५, पुलिसका जीवन आचार्यले ज्येष्ठका प्रियान्सु सिंह क्षेत्रीलाई १२–२१, २१–९ र २१–११ र सेनाका नवीन श्रेष्ठले एपिएफका निराजन देवकोटालाई २१–१२, २१–१२ पराजित गरे ।
एपिएफका गौतम कठायतले पुलिसका पूर्ण थापालाई २१–८, २१–१६, सिल्क ग्रुपका प्रिन्स दाहालले सेनाका पविन लिनथेपलाई २१–६, २१–१९, पुलिसका दीपक बोहराले एपिएफका सुमन लिम्बूलाई २१–१४, १६–२१ र २१–१४ तथा सेनाका प्रफुल महर्जनले बाँकेका रियाज अन्सारीलाई २१–११, २१–१० ले पछाडि पार्दै दोस्रो चरणमा स्थान बनाउन सफल भए ।
नेपाल खेलकूद महासङ्घअन्तर्गत राष्ट्रिय ब्याडमिन्टन सङ्घको आयोजनामा भएको उक्त प्रतियोगिताको यू–१७ पुरुष एकलतर्फको खेलमा दाङका सुरज गुप्ता र कैलालीका जयबी साउदले जीत निकाल्दै दोस्रो चरण प्रवेश गरे ।
सुरजले पाल्पाका सुमितकुमार घिमिरेलाई २१–१३, २७–२५ तथा साउदले आदर्श रावललाई २१–१५, २१–९ ले पराजित गरे । यस्तै दाङका हिमांशु कुँवरले चितवनका निश्चल बस्नेतबाट वाक ओभर पाए । जीत निकाल्ने क्रममा चितवनका अलिश थापाले कपिलवस्तुका रोहित बराललाई २१–१२, २१–१२ को समान अन्तरमा, सुर्खेतका नरेन्द्र ठकुरीले सेनाका सहज शाक्यलाई २१–१४, २१–९ तथा बाराका अनिश खतिवडाले कञ्चनपुरका सञ्जीव भण्डारीलाई २१–१३, २१–१७ पाखा लगाए ।
कञ्चनपुरका विवेक चौधरीले मोरङका जोन जसराजलाई २१–१०, २१–१६, कैलालीका अमृत चौधरीले धन्वन्तरीका सुदन तामाङलाई २१–११, २१–७, नेपालगञ्जका सजल थापाले दाङका सफिक इद्रिसलाई २५–२३, २२–२०, चितवनका मनिष थापाले सुर्खेतका रोहित मल्ललाई २२–२०, १२–२१ र २१–१८, कञ्चनपुरका हिमाल चन्दले इटहरीका सुदर्शन गुरुङलाई २१–१९, २४–२२ तथा तेह्रथुमका क्षितिज केसीले ललितपुरका अनमोल आचार्यलाई २१–१८, २१–१२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाए ।
महिला एकलतर्फ ज्येष्ठ ब्याडमिन्टन एकेडेमीकी साफी खत्री र सेनाकी रञ्जना भट्टले जीत निकाले । खत्रीले झापाकी अञ्जना राईलाई २२–२०, २१–१९ तथा भट्टले ज्येष्ठकी स्मृति राईलाई २१–८, २०–२२ र २१–१५ ले जीत निकाल्दै दोस्रो चरणमा स्थान पक्का गरे ।
यस्तै पहिलो चरणमा जीत निकाल्दै दोस्रो चरण प्रवेश गर्ने पुरुष युगलमा ललितपुरका सनिल शाक्य र सुमन शाक्यको जोडी, दीप महर्जन र भुवन श्रेष्ठको जोडी, श्रीजन ताम्राकार र राजेन्द्र महर्जनको जोडी, प्रदीप महर्जन र विकास महर्जनको जोडी तथा दौथ राई र गणेश गुरुङको जोडी रहेका छन् ।
यसैगरी ज्येष्ठ ब्याडमिन्टनका सुजन थापा र राम बानियाको जोडी तथा एपिएफका गौतम कठायत र सुनिल जोशीको जोडीले पनि दोस्रो चरणमा स्थान बनाए । मङ्सिर १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको एक कार्यक्रमबीच प्रतिनिधिसभा सांसद जीवनराम श्रेष्ठ तथा पूर्वयुवा तथा खेलकूदमन्त्री पुरुषोत्तम पौडेलले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
प्रतियोगितामा पुरुष र महिला एकल तथा युगल, यू–१७ पुरुष÷ महिला तथा भेट्रान्स ४५ वर्षमाथिको प्रतिस्पर्धा हुनेछ । पुरुष र महिला एकलतर्फ तीन शीर्ष स्थान प्राप्त गर्ने खेलाडीहरुले रु ५० हजार, २५ हजार र १० हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै युगलतर्फ शीर्ष तीन स्थान प्राप्त गर्नेले रु २० हजार, १० हजार र पाँच हजार तथा यू–१७ तर्फका शीर्ष तीन स्थान हात पार्नेले रु १५ हजार, सात हजार र पाँच हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै भेट्रान्सतर्फका विजयी शीर्ष तीन स्थानका खेलाडीले ट्रफी, मेडल, प्रमाणपत्रका साथै खेल सामग्री प्राप्त गर्ने आयोजकले जनाएका छन् । प्रतियोगितामा पुरुष एकलमा ३०, महिला एकलमा १८, पुरुष युगलमा २३ जोडी, महिला युगलमा आठ जोडी, पुरुष यू–१७ मा २८, महिला यू–१७ मा १२ र भेट्रान्सतर्फ १५ जोडीको सहभागिता छ ।