Aamsanchar

ट्राफिक प्रहरीलाई जग्गा प्राप्त, भवन बनाउने दाता खोज्दै

Author Image
बिहिवार, मंसिर ६, २०७५

नरेन्द्र ढकाल/ बिर्तामोड ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई बिर्तामोड नगरपालिकाले जग्गा उपलब्ध गराएको छ । मुक्तिचोकस्थित सडक छेउमा रहेको ट्राफिक प्रहरीको अधिकांश जग्गा सडकमा पर्ने र भवन समेत जीर्ण बन्दै गएपछि नगरपालिकाले बिर्ताबजार नजिकैको खाली जग्गा उपलब्ध गराएको हो ।

जग्गा अभावमा ट्राफिक प्रहरीलाई सुत्न तथा आगन्तुक पाहुनालाई राख्ने भवन निर्माण गर्न असहज भइरहेका बेला बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, उपमेयर पवित्रा महतरा(प्रसाईं) र प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडाको विशेष पहलमा ट्राफिक प्रहरीलाई जग्गा उपलब्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए ।

उनले भने– हाम्रो समस्या बिर्तामोडमा मेयर साब र प्रशासकीय अधिकृतज्यूले बुझिदिनुभयो । जग्गा उपलब्ध भए पनि अब भवन कसरी निर्माण गर्ने भन्ने विषय जटिल भएको ट्राफिक प्रहरी निरीक्षक राईको भनाइ छ ।

बिर्तामोड नगरपालिका–३मा प्रहरी प्रधान कार्यालयले तोके बमोजिम जग्गा उपलब्ध गराउन बिर्तामोड नगरपालिका सहमत भएको हो । मापदण्ड अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालयका लागि ५ कठ्ठा जग्गा आवश्यक पर्छ । जग्गा उपलब्ध भएसँगै ट्राफिक प्रहरीले झापाका स्थानीय निकाय तथा समाजसेवीहरुलाई भवन निर्माणमा सहयोगका लागि अनुरोध गर्ने प्रहरी निरीक्षक राईले बताए ।

दैनिक सवारी चाप बढ्दै गएपछि ट्राफिक प्रहरी मध्यरात सम्म सडकमा खटिनुपर्ने बाध्यता रहेको भन्दै ट्राफिक प्रहरी निरीक्षक राईले भने– बिहानदेखि बेलुकासम्मको ड्युटी त छदैं छ, राम्रोसँग सुत्ने भवनपनि नहँुदा ट्राफिक प्रहरीलाई समस्या छ । उनले जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन निर्माणका लागि जग्गा उपलब्ध गराएर बिर्तामोड नगरपालिकाले ठूलो सहयोग गरेको बताए ।

दुर्घटना न्यूनीकरणका लागि हरेक स्थानीय तहको पनि महत्वपूर्ण भूमिका रहने भएकाले ट्राफिक प्रहरीको भवन निर्माणमा पनि सबै स्थानीय तहको सहयोग मिल्नेमा ट्राफिक प्रहरी निरीक्षक राई ढुक्क रहेका छन् ।

हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय रहेको जग्गा राजकुमार पोख्रेलका मातापिता शेरबहादुर पोख्रेल र कृष्णकुमारी पोख्रेलले निःशुल्क रुपमा जग्गा प्रदान गरेका थिए । एक कठ्ठा साढे ४ धुर जग्गामध्ये अधिकांश भाग सडकमा पर्ने भएपछि ट्राफिक प्रहरीलाई जग्गाको अभाव भएको थियो ।

हाल जिल्ला ट्राफिक रहेको जग्गामा सडकको भाग कटाएर १० धुर जग्गा मात्र बच्ने भन्दै अगाडिको भवन समेत सडकमा परेकाले समस्या भइरहेको थियो । नगरपालिकाले जग्गा उपलब्ध गराएकाले मेयर, उपमेयर तथा प्रशासकीय अधिकृतले आफूहरुलाई ठूलो गुन लगाएको प्रहरी निरीक्षक राईको भनाइ छ ।

नगरपालिकाको २०७५ असार १० गते सम्पन्न दोश्रो नगरसभाको २९ नम्बर निर्णयमा जिल्ला ट्राफिक प्रहरीलाई जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार २०७५ कात्तिक २९ गते नगरप्रमुख शिवाकोटीको अध्यक्षतामा बसेको बैठकले मापदण्ड अनुसार आवश्यक जग्गा उपलब्ध गराउने अन्तिम निर्णय गर्दै मंसीर २ गते जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई पत्र पठाएको प्रहरी निरीक्षक राईले जानकारी दिए ।

हाल रहेको भवन २०७२ सालमा गएको भूकम्पका कारण जीर्ण बन्दै गएको तथा जिल्ला मातहतमा रहेका २२ जना ट्राफिक प्रहरीलाई सुत्न पालो कुर्नुपर्ने अवस्था रहेको जनाइएको छ । हालको भवनमा ५ वटा कोठा, एक–एक वटा अफिस र ब्यारेक रहेका छन् । मुक्ति चोकमा निर्माण गरिएको भवनको उद्घाटन २०५७ माघ ११ गते गरिएको थियो ।

झापा जिल्ला अन्तर्गत पूर्व–पश्चिम महेन्द्र राजमार्गको ५५ किलोमिटर क्षेत्रफलका साथै मेची राजमार्ग तथा अन्य सहायक राजमार्गहरुमा समेत ट्राफिक प्रहरीले चेकजाँचलाई तीब्रता दिँदै आएको छ । जिल्लामा ७० जना ट्राफिक प्रहरी रहेको तथा सडकमा दिनानुदिन सवारीको चाप बढ्दै गएकाले समस्या सिर्जना भएको ट्राफिक प्रहरी निरीक्षक राईको भनाइ छ ।

झापाबाटै दुर्घटना न्यूनीकरण महाअभियान शुरु भएको तथा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले ¥याडर गन, ब्रेथलाइजर लगायतका महत्वपूर्ण सामग्री प्रदान गरेर ट्राफिक प्रहरीलाई सहयोग गरेको र बिर्तामोड नगरपालिकाले जग्गा प्रदान गरेर ठूलो सहयोग गरेको ट्राफिक प्रहरी निरीक्षक राईले बताए ।

दुर्घटना न्यूनीकरणका साथै सबैको साथ पाएको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राईले अब भवन निर्माणमा पनि सबैको साथ पाउने आशा व्यक्त गरे । उनले चालू आर्थिक वर्षभित्रमा नै भवन निर्माणका लागि शिलान्यास गर्ने र छिट्टै सम्पन्न गर्ने लक्ष्यका साथ कामलाई तीब्रता दिने बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 469

प्रतिक्रिया (०)