बिर्तामोड ।

जमिनमुनिको प्रकोप अथवा भूकम्पीय जोखिमका दृष्टिले नेपाल ११ औँ जोखिमयुक्त क्षेत्रमा पर्छ । काठमाडौं सबैभन्दा बढी जोखिमयुक्त शहरको सूचीमा छ ।

नेपाललाई भुकम्पका हिसाबमा अत्यन्तै जोखिमपूर्ण मानिने खानी तथा भुगर्भ विभागका महानिर्देशक डा। सोमनाथ सापकोटाको भनाई छ । भूकम्पबाट स्कुल तथा अस्पताल बढी असुरक्षित छन् । कमजोर भौतिक संरचना, अव्यवस्थित वस्ती, निर्माण संहिता विपरीतका भवन लगायतका कारणले जोखिम बढाउँदै लगेको विज्ञहरु बताउँछन् ।

नेपालमा अहिलेसम्म गएका भुकम्प मध्ये संखुवासभाको चैनपुरलाई केन्द्रविन्दु बनाएर १९९० साल माघ २ गते गएको ८ दशमलब ४ म्याग्निच्युटको भुकम्पलाई बिनाशकारी मानिन्छ । १२५५ साल पछिका भुकम्पको अभिलेख नेपालमा राख्न सुरु भएको जानकारहरु बताउँछन् । १३१६, १४६५, १५०५, १७३७, १८३३, १८९०, १९९०, २०४५, २०६८ र २०७२ सालका भुकम्पलाई बिनाशकारी मानिन्छ ।

बारम्बारको भुकम्पले नेपाल भुकम्पीय जोखिममा रहेको अनुमान सहजै लगाउन सकिन्छ । संखुवासभाको चैनपुरलाई केन्द्रबिन्दु बनाएर गएको ८ दशमलब ४ रेक्टरस्केलको १९९० को भुकम्प, नेपालमा मापन भएको अहिलेसम्मकै सवैभन्दा शक्तिशाली भुकम्प पनि हो ।
सो भुकम्पले ८ हजार एक सय १९ जनाको ज्यान लियो भने २ लाख ७ हजार बढी भौतिक संरचनामा क्षति पुर्यायो । यसैबीच १९९० साल माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा आज २१ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाइँदैछ । ९० सालको भूकम्प गएको ६५ बर्षपछि अर्थात २०५५ सालदेखि मात्र भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।
तर सरकारले भुकम्पीय जोखिमबाट बच्न पूर्व तयारी नीति बनाएपनि यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन । भवन निर्माण आचारसंहिता लागू गर्न सकेमा मात्र भुकम्पबाट हुने क्षतिबाट बच्न सकिने विज्ञहरुको भनाई छ भनेर रेडियो कान्तिपुरले समाचार प्रकाशन गरेको छ ।

