अन्तर्राष्ट्रिय बडिबिल्डिङका हस्ती रोली विङ्कलार नेपाल आउने भएका छन्। रोलीलाई ‘आइएफबिबि लिग नेपाल’ ले फागुनको पहिलो साता नेपाल ल्याउन लागेको हो।
‘आइएफबिबि लिग नेपाल’ ले फागुन ३–४ मा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा ‘आइएफबिबि प्रोफेसन लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९ को आयोजना गर्दैछ।
यो प्रतियोगिता नेपाली खेल इतिहासकै ठूलो प्रतियोगिता मध्ये एक मानिएको छ। यही प्रतियोगितामा ‘गेष्ट पोजर’ को रुपमा विङ्कलार नेपाल आउन लागेका हुन्। उनको हातको पाखुरा मात्र २४ इन्चीको छ।
विङ्कलार सन् २०१८ को ‘आर्नोल्ड क्लासिक’ का च्याम्पियन हुन्। उनी गत वर्ष ‘मिस्टर ओलम्पिया’ मा तेस्रो भएका थिए। विङ्कलारको इन्स्टाग्राममा मात्र १२ लाख ‘फलोअर’ छन्।
विङ्कलार मुलत नेदरल्यान्डका हुन्। तर, उनी अमेरिकामा बसोबास गर्छन्। उनको विषयमा जानकारी दिन बुधबार गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष गुरुङले भने– ‘विङ्कलार १४ फेब्रुअरीमा नेपाल आउने छन्। उनको बसाइँ ४ दिनको हुनेछ। १७ तारिखमा उनी फर्किने छन्।’
विङ्कलारको तौल १ सय ३० केजी छ। ४१ वर्षीय यी बडिबिल्डरलाई ‘सामुराई’ को उपनामले पनि चिनिन्छ। उनको आगमनले नेपालको पर्यटनमा समेत सकारात्मक प्रभाव पर्ने आयोजक कमिटीले जनाएको छ।