अमित खम्बू / अर्जुनधारा।
शहीदहरुले पु¥याएको योगदानको लागि उनीहरुलाई सम्झिनु र सम्मान गर्नु सबैको दायित्व भएको युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले बताए ।
४६औं सुखानी शहीद स्मृती दिवसको सन्दर्भमा सुखानी शहीद स्मृती प्रतिष्ठान नेपालद्धारा झापाको अर्जुनधारामा आयोजित प्रदेश नं.१स्तरीय सुखानी शहीद स्मृती गोल्डकप महिला फुटबल प्रतियोगिताको शुक्रबार उद्घाटनपछी सम्बोधन गर्ने क्रममा मन्त्री विश्वकर्माले सो कुरा बताएका हुन् ।
प्रतिष्ठानले शहीदहरुको स्मृतीमा पार्क निर्माणसँगै विभिन्न समयमा गर्ने रचनात्मक कार्यहरुको मन्त्री विश्वकर्माले प्रशंसा गर्दै आगामी दिनमा प्रतिष्ठानले सञ्चालन गर्ने खेलकुद सम्बन्धीको गतिविधिहरुमा मन्त्रालयको साथ रहने बताए ।
त्यसैगरी प्रतियोगिता सञ्चालन भइरहेको अर्जुनधारा–९स्थित नमूना सामुदायिक वन उपभोक्ता समूहको खेलमैदानको स्तरोन्नतीको लागि मन्त्रालयबाट १० लाख रुपैयाँ छुट्टाइएको उनले जानकारी दिए । “गोल्डकप निरन्तरताको लागि नियमित बजेट आउनेछ”–उनले प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै भारतको उडीसामा फेब्रवरी ७ तारिख देखि हुन गइरहेको फोर्थ नेसन वूमन फुटबल च्याम्पियनसीपमा नेपालकोतर्फबाट सहभागी हुन जाने राष्ट्रिय महिला फुटबल टिमको टोलीलाई मन्त्री विश्वकर्माले विदाईसहित विजयको लागि शुभकामना व्यक्त गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष देवराज घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश नं.१का सांसद् अर्जुन राई, पूर्व सांसद् मनकुमार गौतम, जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेल, अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार राना, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले “मामा”, राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक हरि खड्कालगायतको आतिथ्यता रहेको थियो ।
प्रतिष्ठानका सदस्य एवम् प्रदेश नं.१का सांसद् वृख प्रधानले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव हर्कराज राईले गरेका थिए ।
यसैबिच सोही दिन सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा धनकुटा जिल्ला फुटबल संघलाई ४–० गोल अन्तरले पराजित गर्दै स्थानीय पारिजात महिला फुटबल क्लब झापा प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।
विजयी टिम पारिजातको लागि खेलको चौथो, २४औं र दोस्रो हाफको चौथो मिनेटमा संरचना श्रेष्ठले गोल गरेकी थिइन् । थप गोल खेलको दोस्रो मिनेटमा सम्झना लावतीले गरेकी थिइन् । खेलको वूमन अफ दी म्याच विजेता टिमकी संरचना श्रेष्ठ नगद दुई हजार बाट पुरस्कृत भएकी थिइन् ।
“शहीदहरुको सम्मान, महिला खेलाडीहरुलाई प्रोत्साहन” भन्ने मुख्य नारासहित स्थानीय सुखानी शहीद स्मृती उद्यान व्यवस्थापन समितिको व्यवस्थापनमा आयोजित प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार र उपविजेताले नगद ५१ हजार प्राप्त गर्ने छन् ।
शनिबारको खेल कनकाई नगर खेलकुद समिति(झापा) र लेटाङ फुटबल क्लब (मोरङ)बिच हुने प्रतिष्ठानका व्यवस्थापक पूष्पलाल तिवारीले जानकारी दिए ।