अर्जुनधारा।
झापाको अर्जुनधारामा जारी प्रदेश नं.१स्तरीय सुखानी शहीद स्मृती गोल्डकप महिला फुटबल प्रतियोगिताको फाइनलमा पारिजात महिला फुटबल क्लब झापा र कर्णसिंह सोनाम स्मृती स्पोर्टीङ क्लब ताप्लेजुङ भिड्ने भएको छ ।
स्थानीय नमूना सामुदायिक वन उपभोक्ता समूहको खेलमैदानमा बुधबार सम्पन्न अन्तिम सेमीफाइनल खेलको ट्राईब्रेकरमा कनकाई नगर खेलकुद समिति झापालाई ३–० गोलले पराजित गर्दै ताप्लेजुङले पारिजातसँग भिड्ने भएको हो ।
निर्धारित समयमा दुवै टिमबाट गोल नभएपछी खेलको निर्णय ट्राईब्रेकरबाट गरिएको थियो । ट्राईब्रेकरमा ताप्लेजुङकोतर्फबाट अनुष्का शेर्पा, पवित्रा लिम्बू र हीना राना मगरले गोल गरेका थिए ।
खेलको वूमन अफ दी म्याच विजेता टिमकी गोलरक्षक यमुना गुरुङ घोषित भएकी थिइन् । उनलाई प्रतिष्ठानका सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य देवेन्द्र दाहालले नगद दुई हजारबाट पुरस्कृत गरेका थिए ।
शुक्रबार हुने प्रतियोगिताको समापन समारोहमा संघीय संसद्का उपसभामुख शिवमाया तुम्वाहाम्फे आउने प्रतिष्ठानका व्यवस्थापक पूष्पलाल तिवारीले जानकारी दिए । विजेता टिमले नगद एक लाख एक हजार र उपविजेता टिमले ५१ हजार प्राप्त गर्ने छन् ।