बिर्तामोड, फागुन १४ । यही फागुन १८ गतेबाट २७ गतेसम्म सञ्चालन हुने नेपालकै सर्वाधिक दर्शक उपस्थित रहदै आएको झापा गोल्डकपमा व्यापारिक प्रतिष्ठानहरुले सहयोगप्रति चासो देखाएका छन् ।
अघिल्ला गोल्डकपमा भन्दा चौथो संस्करणका लागि उनीहरु सहयोग गर्न बढी नै इच्छुक देखिएको झापा गोल्डकपका अध्यक्ष महेन्द्रकुमार गिरीले जानकारी दिए ।
गोल्डकपको चौथो संस्करणका लागि झन्डै पाँच दर्जन व्यावसायिक प्रतिष्ठान तथा संघसंस्थाले आर्थिक सहयोगको प्रतिबद्धता जनाएको झापा गोल्डकपका संरक्षक जलकुमार गुरुङले बताए ।
गोल्डकपको चौथो संस्करणमा आयोजक समितिले अनलाइन टिकटको व्यवस्था गरेको छ । आयोजकले एक सय, दुई सय र तीन सय दरका टिकटको व्यवस्था गरेको अध्यक्ष गिरीले बताए । झापा गोल्डकपको विजेता टिमले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ पाउने आयोजकका महासचिव गजेन्द्र पौडेलले जानकारी दिए ।