यहाँको जिल्ला अस्पतालले औषधि लुकाएर बिरामी अन्यत्र रिफर गरेको खुलासा भएको छ ।
जिल्लाको भेरीमालिका नगरपालिका–१ का जसवीर परियारलाई तीन दिनअघि सर्पले टोक्दा घाइते भएपछि जिल्ला अस्पताल पुर्याउँदा सर्प दंशको औषधि छैन भनी रुकुमको चौरजहारीमा पठाइएको थियो । तर चौरजहारीस्थित मेसिन अस्पतालले जाजरकोट जिल्ला अस्पतालबाट नै सर्पदंशको औषधि ल्याएर जसवीरको ज्यान बचाएको खुलासा भएको छ ।
जाजरकोटको जिल्ला अस्पतालमा बिरामी ल्याएर आउँदा भ्याक्सिन छैन चौरजहारी लैजानुहोस भनी डा राजेन्द्र जिसीले बिरामीलाई रिफर गरेका थिए । तर बिरामीलाई आवश्यक पर्ने औषधि जिल्ला अस्पतालबाट नै पूर्ति गराएको खुलासा भएपछि औषधि लुकाएको खुलासा भएको छ ।
अस्पताल आउँदा छैन औषधि भनी हामीलाई फर्काइएको थिया,े पछि चौरजहारी अस्पतालमा जाजरकोटकै अस्पतालबाट औषधि ल्याएको थाहा भयो, बिरामीका मितभाइ सहदेव बस्नेतले बताउनुभयो ।
हामीले डाक्टर राजेन्द्र जिसीलाई किन औषधि लुकाएको भनेर सोध्दा जङ्गलको बीचमा अस्पताल छ हामीलाई सर्पले टोक्यो भने चाहिन्छ, हामी कसैलाई दिँदैनौँ, भनेर जवाफ दिएको उहाँले बताउनुभयो ।