विराटनगर,
पाँचौं साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिता मंगलबारदेखि मोरङको विराटनगरमा सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेल समूह ‘ए’मा रहेका आयोजक नेपाल र भुटानबीच हुने छ। खेल ३ बजेदेखि सुरु हुने जनाइएको छ।
प्रतियोगिताको ट्रफी विराटनगरमा सोमबार सार्वजनिक गरियो। सार्वजनीकरणसँगै ट्रफी कसले हात पार्ने विषयमा प्रतियोगी टिमहरुले आ–आफ्ना दाबी छ।
साफको उपाधिका लागि मुख्यतः नेपाल, भारत र बंगलादेशले दाबी गरेका छन्। एन्फाको आयोजनामा पत्रकार सम्मेलनमा चार पटक उपाधि चुमेको भारतले यस पटक पनि विजेता बन्ने दाबी गर्यो।
भारतीय टोलीका प्रशिक्षक मेमोल रकीले आफूहरूले चार पटक उपाधि उचालेको भन्दै यस पटक पनि जित्ने दाबी गरे। उनले दक्षिण एसियामै आफ्नो टोली बलियो रहेको र टिम प्रतिस्पर्धीलाई पटक–पटक पराजित गरेको भन्दै यस्तो दाबी गरे।
साफ गेममा भारतीय टिम नम्बर १ मा छ भने नेपाल र बंगलादेश क्रमशः दोस्रो र तेस्रो बलियो मानिन्छन्। यी तीनै मुलुकले उपाधि कब्जा गर्ने दाबी गरेका छन्।
यस पटक नेपाली टिमको पनि आत्मबल बलियो छ। यसले भर्खरै सम्पन्न हिरोकपमा भारतलाई पराजय गरेको छ। नेपाली टिमका प्रशिक्षक हरि खड्काले सबैको अस्तित्वलाई स्वीकार गर्दै सहजतापूर्वक खेल प्रदर्शन गर्ने र उपाधि जित्ने दाबी गरे।
आफूहरुको प्रतिस्पर्धा सबैसँग हुने भए पनि सन्तुलित टिम र विगतको कमजोरी सुधार गर्दै अगाडि बढेको कारण जित आफूहरुकै हुने उनको दाबी छ।
बंगलादेशले पनि आफूहरु उपाधिका लागि दह्रो दाबेदार रहेको जनाएको छ। छ वटा देशको संयुक्त पत्रकार सम्मेलनमा बंगलादेशी टिम प्रशिक्षकले साफका सबै टिमसँग प्रतियोगितामा प्रतिस्पर्धा गरेको अनुभव रहेको र कमजोरी सच्याएको कारण आफूहरुले उपाधि जित्ने दाबी गरे।
भारत, नेपाल र बंगलादेशले उपाधिमा दाबी गरिरहँदा उनीहरुलाई समूह चरणमा विजयी हुनुपर्ने पहिलो शर्त हो। त्यसका लागि उनीहरुले कस्तो खेल प्रदर्शन गर्छन् भन्ने हेर्न बाँकी नै छ।
उपाधिका लागि दाबी नगरे पनि श्रीलंका, माल्दिभ्स र भुटानले पनि आफूहरुको लक्ष्य जित निकाल्ने नै रहेको बताएका छन्। प्रतियोगिताको समूह ‘ए’ आयोजक नेपाल, भुटान र बंगलादेश रहेका छन्।
समूह ‘बी’ मा भारत, श्रीलंका र माल्दिभ्स रहेका छन्। फागुन २९ मा भारत र माल्दिभ्स, ३० मा भुटान र बंगलादेश, चैत १ मा माल्दिभ्स र श्रीलंका, चैत २ मा बंगलादेश र नेपाल, चैत ३ मा भारत र श्रीलंकाबीच खेल हुने तालिका रहेको छ।