खाँचे (लमजुङ)।
बाँझाखेत गाविस खाँचेका सोमबहादुर तामाङ करिब पाँच वर्ष विदेशमा बस्नुभयो । पहिलो पटक छुट्टीमा आएका सोमबहादुरले खासै कमाउन सकेनन् । ऋण गरेर दोस्रोपटक उहाँ विदेश जानुभयो । दोस्रो पटक पनि उहाँ विदेशबाट रित्तो हात घर फर्किनुभयो । त्यसपछि उहाँ गाउँमै अलैँची खेती गर्नथाल्नुभयो ।
गाउँमा अलँैची खेतीमा लागेपछि उहाँले दुई पटकसम्म विदेश जाँदा लागेको ऋण तिर्नुभयो । आव २०७१÷७२ मा उहाँले अलैँची बेचेर रु चार लाख कमाउनुभयो भने आव २०७२÷७३ रु सात लाख आम्दानी गर्नुभयो । उहाँ अहिले गाउँका युवालाई विदेश नजान सल्लाह दिँदै हिँड्नुभएको छ ।
यस्तै खाँचेकै कालु गुरुङले दुई वर्षअघि सरमुकाम बेँसीसहरमा रु १६ लाख हालेर जग्गा किन्नुभयो । उहाँ अहिले घर बनाउने तयारीमा हुनुहुन्छ । “न त म ढाक्रे हो, न त पेन्सन छ, न त म विदेश गएँ । गाउँमा जम्मा छ हलको पाखा बारीबाहेक मेरो कुनै पैतृक सम्पत्ति छैन । तर धन्न अलैँची मेरो सहारा बन्यो,” उहाँले भन्नुभयो ।
पसगाउँ–८ का होमबहादुर गुरुङले गत वर्षदेखि धान रोप्न छाड्नुभयो । मुस्किलले १५ मुरी धान फल्ने जग्गामा उहाँले अलैँची खेती गर्दैआउनुभएको छ । यस आवमा रु १० लाख बराबरको अलैँची फल्ने उहाँको विश्वास छ । दुई वर्षअघि जिल्ला कृषि विकास कार्यालयबाट ५० प्रतिशत अनुदानमा छ हजार बीउ लिई उहाँले आफ्नै लगानीमा अलैँची खेती सुरु गर्नुभएको थियो ।
“यस वर्ष ३० हजार अलैँचीका बिरुवा बिक्रीबाट रु १३ लाख कमाइ भयो,” उहाँले भन्नुभयो । सोमबहादुर, कालु र होमबहादुर मात्र होइन यतिबेला खाँचे, पसगाउँ, इलमपोखरी, ढोडेनीलगायतका ठाउँका बासिन्दा अलैँची खेतीतर्फ आकर्षित भएका छन् । अन्य खेतीपातीभन्दा मनग्य आम्दानी हुने र बजार मूल्य बढ्दै गएपछि किसान व्यावसायिक रुपमा अलैँची खेती गर्न थालेका छन् ।
अलैँचीको आम्दानीबाट लमजुङको इलमपोखरीका किसानले लघुजलविद्युत् आयोजना निर्माण गरी गाउँ नै झिलीमिली पारेका छन् । जिल्ला कृषि विकास कार्यालयले जिल्लालाई अलँैची पकेट जिल्लाका रुपमा घोषणा गर्दै अलैँची खेती विस्तारमा ध्यान केन्द्रित गरेपछि पछिल्लो समय अलैँची खेतीले थप व्यावसायिकता पाएको हो ।
वर्षमा दुईपटक गोडमेल गरेपछि कुनै झन्झट गर्न पनि नपर्ने भएकाले धेरै किसान यस खेतीतर्फ आकर्षित भएका हुन् । जिल्ला कृषि विकास कार्यालय, वल्र्ड भिजन र आफ्नै पहलमा उनीहरुले गाउँमा अलैँची सुकाउने आठवटा भट्टीसमेत राखेका छन् । गाउँमा कहीँ व्यक्तिगत रुपमा अलैँची खेती लगाइएका छन्, कतै सामूहिक रुपमा । पसगाउँ–९ मा भने काम्रेदेवी अलैँची कृषक समूह र प्रगतिशील अलैँची कृषक समूहले सामूहिक रुपमा अलैँची खेती गरेका छन् ।
स्थानीय डम्बरबहादुर गुरुङका अनुसार २०० रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएको अलैँची फस्टाउँदै गएको छ । बर्सेनि धान खेतीको सट्टा अलैँची लगाउने क्रम बढ्दो छ । गाउँका जङ्गल पनि अलैँची खेतीले भरिएका छन् । स्थानीय आशिष गुरुङ भन्छन् – “गाउँमा फ्रोंचे अलैँची कृषक समूहले झन्डै ३०० रोपनी क्षेत्रफलमा अलैँची लगाएको छ, व्यक्तिगत रुपमा पनि अलैँची लगाउनेहरु थुप्रै छन् ।” मनग्य कमाइ हुनेभएपछि अलैँची खेतीमा आकर्षण बढ्दै गएको छ ।
जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार अलैँची खेतीमा कृषकको माग थेग्नै नसकिने छ । किसानले यस वर्ष ३५ लाख बिरुवा माग गरेका छन् । तर, कार्यालयले यस वर्ष चार लाख ३० हजार बिरुवा वितरण गरेको बागवानी विकास अधिकृत ज्ञानेन्द्र अधिकारीले जानकारी दिनुभयो । कार्यालयको अनुदान र कृषक आफैँले गरी किसानले करिब १२ लाख बिरुवा यस वर्ष रोपेका छन् ।
जाजरकोट, दैलेख, बझाङ, सुर्खेतलगायतका किसानले करिब १० लाख अलैँचीका बिरुवा माग गरेका छन् । आगामी वर्ष करिब ७० लाख अलैँचीका बिरुवा उत्पादन गर्ने कार्यालयको लक्ष्य छ । जिल्लाका इलमपोखरी, सिउरुङ, भुलभुले, खाँचे, छिनखोला, भोंजे, घाम्राङ, पसगाउँ, फलेनीलगायत क्षेत्रमा अलैँचीका बिरुवा उत्पादन भई वितरण भइरहेको छ ।
जिल्लामा गतवर्ष ६३ मेट्रिक टन अलैँची उत्पादन गरेर किसानले रु १२ करोड ६३ लाख आम्दानी गरेको अधिकृत अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष १२० मेट्रिक टन उत्पादन हुने र करिब रु २५ करोड आम्दानी हुने अनुमान छ । अलैँचीको बिरुवाको रु १२ मूल्य निर्धारण गरिएको छ । पुरानो गाँजबाट उत्पादित बिरुवाको मूल्य प्रतिबिरुवा रु १० तोकिएको छ । बाँझाखेत, घनपोखरा, खुदी, भुलभुले, गौँडा, इलमपोखरी, दूधपोखरी, बन्सार, ढोडेनी, फलेनी, ताघ्रिङ, कोल्की र पसगाउँलगायतका किसानले अलैँची खेतीबाट मनग्य आम्दानी लिइरहेका छन् ।
अलैँचीको बजार मूल्य प्रतिकिलो रु एक हजार ८०० देखि रु दुई हजार १५० सम्म छ । करिब ८०० देखि एक हजार ७०० मिटर उचाइमा हुने अलैँची खेती गर्मी र जाडोमा हुने दुईथरिका हुन्छन् । जिल्लामा हाल गोलसायी र रामसायी जातका अलैँची उत्पादन हुँदै आएको छ ।