काठमाडौँ,
एएफसी तेइस वर्षमुनि यू–२३ च्याम्पियनसिप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।
कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा गए राति सम्पन्न खेलमा नेपाल कतारसँग ५–० गोलअन्तरले पराजित भएपछि नेपाल समूह ए बाट बाहिरिएको हो । यसअघि नेपाल ओमनसँग पराजित भएको थियो ।
कतारको जितमा कप्तान बासम अल रावी र अब्दुल्लाह अल्हारकले दुई दुई गोल गरे भने एक गोल नेपालले कतारको लागि उपहारस्वरुप आत्मघाती गोल गरिदियो ।
खेलको २५औँ मिनेटमा अब्दुल्लाहले पेनाल्टीमार्फत गोल गर्दै कतारलाई शुरुआती अग्रता दिलाएका थिए । नेपालका डिफेन्डर अनन्त तामाङले कतारका खेलाडीलाई डिबक्सभित्र लडाएपछि कतारले पेनाल्टी पाएको थियो ।
त्यस्तै खेलको ५३ औँ मिनेटमा कप्तान अल रावीले गोल गरे । खेलको ६० औँ मिनेटमा दिनेश राजवंशीले आत्मघाती गोल गर्दै कतारको अग्रता ३–० को भयो ।
त्यसैगरी खेलको ७६ औँ मिनेटमा अल रावीले फ्रिकिकबाट व्यक्तिगत दोस्रो गोल गरे भने खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा अब्दुल्लाहले व्यक्तिगत दोस्रो गोल गर्दै कतारलाई ५–० को सहज जित दिलाए ।