Aamsanchar

सरकारले वार्ता र संवादको ढोका बन्द गरेको छैन : वरिष्ठ नेता नेपाल

Author Image
मङ्गलवार, चैत १२, २०७५

चितवन, 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग वार्ता र संवादको ढोका बन्द नगरेको बताउनुभएको छ ।

प्रेस चौतारी र प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले वार्ता र संवादबाट समस्याको समाधान हुने बताउनुभयो । उहाँले भन्नुभयो, “लगानी सम्मेलनको तयारी गरिएको छ, लगानीकर्तालाई बम पड्काएर, धम्की दिएर कसरी लगानी सम्मेलन सफल हुन्छ ?” यस्तो अवस्थामा बाह्य र आन्तरिक लगानीमा मान्छेको रुचि नहुने भन्दै उहाँले त्रास र आतङ्कमुक्त गर्न राज्यले प्रयत्न गरिरहेको बताउनुभयो ।

त्यसैअन्तर्गत चन्द नेतृत्वको समूहका गतिविधिलाई सरकारले नियन्त्रणमा लिएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “नेत्रविक्रम चन्दले आफैँले पहल गरी शान्तिपूर्ण अवतरण हुने काम गर्नुभयो भने उहाँहरुको पनि शक्ति, ऊर्जा, अनुभव यो देशलाई रुपान्तरण गर्ने काममा प्रयोग हुन्छ ।”

वरिष्ठ नेता नेपालले चन्द समूहलाई संवादका माध्यमबाट समस्या समाधान गर्न नेता सोमप्रसाद पाण्डे नेतृत्वको टोलीले प्रयास जारी राखेको बताउनुभयो । राज्यले नियन्त्रण गर्ने भनेको तर सिध्याउने नभनेको उहाँको भनाइ थियो ।

राजनीतिकर्मीले सबै धर्मलाई सम्मान गर्नुपर्ने बताउँदै नेपालले जबर्जस्ती धर्म परिवर्तन गराउने कार्यको विरोध गर्नुभयो । उहाँले भन्नुभयो, “व्यक्तिको स्वतन्त्रता होे धर्म छनोट गर्ने तर, कसैले जबर्जस्ती गराउँछ भने दण्डको भागीदार हुनुपर्छ ।” नेपालमा खुलारूपमा क्रिश्चियन धर्म प्रचार गरी प्रभावमा पारेर धर्म परिवर्तन गर्ने कामलाई संविधानले छुट दिएको छैन भन्नुभयो ।

उहाँले कसैले पनि धर्म परिवर्तन लोभ लालचमा गराउन नपाउने बताउनुभयो । नेपालमा हिन्दू धर्मलाई परिवर्तन गर्ने काम भइरहेको भन्दै त्यसलाई दण्डित गर्नुपर्ने उहाँको भनाइ थियो ।

Views: 188

प्रतिक्रिया (०)

सम्बन्धित खबर