काठमाडौँ,
राष्ट्रिय खेलको रूपमा मान्यता पाएको दुई वर्ष नपुग्दै भलिबल खेल अब राष्ट्रिय खेल हुने नहुनेमा अन्योल सिर्जना भएको छ । हालै युवा तथा खेलकूद मन्त्रालयले तयार गरी राष्ट्रियसभामा दर्ता भएको खेलकूदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा राष्ट्रिय खेल भलिबलका बारेमा स्पष्ट व्यवस्था नुहँदा राष्ट्रिय खेलको भविष्य अन्योलमा परेको हो ।
विसं २०७४ जेठ ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको थियो । नेपालको भौगोलिक विकटता, अन्य खेलको तुलनामा थोरै लगानी र मुलुकभर व्यापक पहुँचका आधारमा भलिबललाई त्यतिबेला राष्ट्रिय खेल बनाउने पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले गरेको थियो ।
अहिले खेलकूद ऐन परिमार्जनको अवस्थामा रहेको र प्रस्तावित विधेयकमा यसबारे स्पष्ट उल्लेख नभएका कारण राष्ट्रिय खेलको मान्यता अन्योलमा परेको हो । प्रस्तावित विधेयकको परिच्छेद–८ को उपधारा २९ मा नेपाल सरकारले राष्ट्रिय खेलकूद परिषद्को सिफारिसमा नेपालको राष्ट्रिय खेल घोषणा गर्ने उल्लेख गरिएको छ । तर अहिले भलिबल नै राष्ट्रिय खेलको रूपमा रहेको छ । यस्तो अवस्थामा यस बुँदाले अन्योल सिर्जना गरेको छ ।
नेपाल भलिबल सङ्घले राष्ट्रिय खेल भलिबल नै रहेको र उक्त बुँदा परिमार्जन गरी नेपालको राष्ट्रिय खेल भलिबल नै राख्न माग गर्दै विभिन्न तहमा ज्ञापनपत्र बुझाएको छ । सङ्घले शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्ती, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै राष्ट्रिय खेल भलिबलबारे विधेयकमा देखिएको अन्योल हटाउन माग गरेको छ ।