एजेन्सी ।
कप्तान नेइमारले ब्राजिललाई पहिलो पटक ओलम्पिक फुटबलमा स्वर्ण पदक दिलाएका छन् । माराकाना रंगशालमा आइतबार बिहान भएको जर्मनीसँगको फाइनलमा नेइमारकै गोलका कारण आयोजक ब्राजिलले स्वर्ण पदक जित्यो ।
निर्धारित समयको खेल १–१ को बराबरी भएपछि थप गरिएको समयमा दुवै तर्फबाट गोल भएन । त्यसपछि खेलको निर्णय टाइब्रेकरबाट लिइयो । टाइब्रेकरमा जर्मनीका निल्स पिटरसनले गोल गर्न सकेनन् । त्यसपछि पेनाल्टी प्रहार गर्न आएका नेइमारले सुन्दर गोल गर्दै ब्राजिलाई जित दिलाए ।
गोल गरेपछि नेइमार मैदानमै घुँडा टेकेर आकाश तिर फर्किँदै रोएर खुसी साटे । जितको खुसी उनले आँसुमा व्यक्त गरे । केही महिना अघि भएको कोपा अमेरिकामा नेइमार बिना खेलेको ब्राजिलले राम्रो प्रदर्शन गर्न सकेको थिएन । तर घरेलु मैदानमा भएको ओलम्पिकमा भने नेइमारले आफ्नो कप्तानीमा पहिलो स्वर्ण दिलाए ।
रियो ओलम्पिकमा समूह चरणका तीन खेलमा दुईमा बराबरी र एकमा मात्रै जित निकालेको ब्राजिलले क्वाटरफाइनलमा कोलम्बियालाई हरायो । कोलम्बियासँगको खेलमा एक गोल गरेका नेइमारले होन्डुरससँगको सेमिफाइनलमा दुई गोल गरे ।
आइतबार बिहान भएको जर्मनीसँगको फाइनलमा निर्धारित समयमा एक गोल गरेका नेइमारले टाइब्रेकरमा गोल गरेर जित दिलाए । जितपछि टिमका साथी उनी नजिक आए, उनी मैदानमै रोए । तर त्यो आँसु दुःख थिएन, खुसीको थियो, जितको थियो ।