भोपाल ।
ढल्दै गरेको भवनबाट एक बालिकाको ज्यान बचाउन खोज्दा फुटबलरको निधन भएको छ । भारतको मध्य प्रदेशमा भएको उक्त घटनामा ती बहादुर फुटबलरले नाम बब्लु मार्टिन हो । उनी मध्य प्रदेशको राज्य स्तरका फुटबल खेलाडी थिए ।
राज्यमा रहेको मेहरस्थित हाउजिङ बोर्डको तीन तल्लाको भवन ढलेको थियो । भवन ढल्दै गर्दा उक्त घरमा काम गर्ने चौकीदारको १२ वर्षीया छोरी प्रभा पनि पुरिन लागेकी थिइन् । तर, ठीक त्यही समय बब्लुले ती बालिकालाई देख्छन् र कुद्दै गएर भवन ढल्न अघि बालिकालाई धकेलेर पर पुराइदिन्छन् । यद्यपि, यस क्रममा उनी भने आफै पुरिन्छन् । उनको घाँटीसम्म पानी र घरको छतले पुरिन्छन् ।
उनको टाउको बाहिरनै भएपनि उनी केही बोल्न भने सकिरहेका थिएनन् । मानिसहरुले हतार हतार गरेर उनलाई थिचिरहेको छतलाई हटाउँछन् र उनलाई नजिकैको अस्पतालमा लैजान्छन् ।
तर, उक्त अस्पतालमा उपचार सम्भव नभए पछि अर्को अस्पतालमा लैजादै गर्दा उनको मृत्यु हुन्छ ।
बब्बु मध्य प्रदेशबाट फुटबलको साथै क्रिकेट पनि खेल्ने गरेका थिए । उनी बालबालिकाहरुलाई फुटबलको प्रशिक्षण पनि दिने गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।