गंगा बराल
भद्रपुर । झापाको भद्रपुरमा नगरस्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता मंगलबार शुरु भएको छ ।
एक समारोहका बीच भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले प्रतियोगिताको उद्घाटन गरे । माध्यमिक तहका विद्यार्थी सहभागी हुने प्रतियोगितामा भद्रपुर नगरभित्रका २८ विद्यालय सहभागी छन् ।
शनिबारसम्म चल्ने प्रतियोगितामा एथलेटिक्स, भलिबल र कबड्डीका खेलहरु समावेश रहेको आयोजक भद्रपुर नगरपालिका, शिक्षा खेलकुद तथा युवा शाखा अधिकृत ज्ञानबहादुर पौडेलले जानकारी दिए ।
शिक्षा खेलकुद तथा युवा शाखा प्रमुख उद्धव विष्टको अध्यक्षतामा शाखाका प्रेम भुजेलले सञ्चालन गरेको उद्घाटन समारोहमा प्रमुख अतिथि नगरप्रमुख श्रेष्ठले नगरभित्रका विद्यार्थीहरुको खेलकुदप्रतिको चाहना पूरा गर्न नगरपालिकाले प्रयास गर्ने बताए ।
विद्यालयहरुको मार्चपास र साँस्कृतिक प्रस्तुतिसमेत रहेको उद्घाटन समारोहमा उपप्रमुख चन्द्रा श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठ, नेकपा भद्रपुर नगर कमिटी अध्यक्ष शिवकुमार राजभण्डारी, शिक्षक महासंघ भद्रपुरका सचिव अम्बरबहादुर खड्कालगायतले शुभकामना मन्तव्य राखेका थिए ।