Aamsanchar

हल्दिबारीमा ४८० बेरोजगार युवाले दिए दरखास्त

Author Image
बिहिवार, जेठ २३, २०७६

हल्दिबारी  बेरोजगार युवालाई रोजगारी दिने प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि हल्दिबारी गाउँपालिकामा ४८० जनाले दर्खास्त बुझाएका छन् ।

दरखास्त दिनेमध्ये ६३ जनालाई रोजगारी दिन सकिने हल्दिबारी गाउँपालिकाका रोजगार संयोजक सपना नेउपानेले जानकारी दिइन् । 

प्रधानमन्त्री रोजगार परियोजना अन्तर्गत पहिलो चरणमा वृक्षारोपण र सामुदायिक विद्यालयमा रंगरोगन गर्ने कार्यमा परिचालित गरिने संयोजक नेउपानेले बताइन् । 

हल्दिबारीमा रोजगार कार्यक्रम सञ्चालनका लागि १४ लाख रुपैयाँ प्राप्त भएको उनको भनाई छ । 
दरखास्त दिएको फारम पुनः वडाकार्यालयमा पठाएपछि वडाको सिफारिसको आधारमा ६३ जनालाई असार पहिलो सातादेखि काममा लगाइने बताइएको छ । 

बेरोजगार युवालाई सय दिन रोजगारी दिने सरकारको योजना रहे पनि चालु आर्थिक वर्षमा ढिलो गरी कार्यक्रम लागु भएकाले असार मसान्तसम्म मात्र काम लगाउन सकिनेछ । 

परियोजना अन्तरगत नयाँ आर्थिक वर्षदेखि छनोट भएका युवालाई दोस्रो चरणको रोजगारी प्रदान गर्ने योजना रहेको रोजगार संयोजक नेउपानेको भनाई छ ।

३० दिनका लागि दैनिक ५१७ रुपैयाँ ज्याला उपलब्ध गराउने गरी परियोजनाले बेरोजगार युवालाई काममा लगाउने छ । 

छनोटमा परेका युवाले आवश्यकता अनुसार सडक मर्मत, पर्यटकीय स्थल तथा सार्वजनिक स्थलको सरसफाई लगायतको काम गर्न पाउने बताइएको छ ।

Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर