काठमाडौं । मेकानिकल पार्टस्, सवारी साधनको मूल्य, श्रमको दर, इन्धनमा भएको मूल्यवृद्धि लगायतका कारण देखाउदै भाडादर वृद्धि गरिएको दिन काट्न नपाउदै सरकारले सार्वजनिक यातायातको भाडा बढाउने निर्णय फिर्ता लिएको छ ।
यायायात व्यवसायी, उपभोक्ताकर्मी र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी भाडादर समायोजन गरिएको यातायात व्यवस्था विभागले बिहीबार दिउँसो १२ प्रतिशतसम्म भाडा वद्धि गर्ने निर्णय गरेको थियो । विभागले देशभरको नयाँ भाडादर समेत सार्वजनिक गरिसकेको थियो ।
केही घण्टा नवित्दै वैज्ञानिक भाडा समायोजन गर्न भन्दै निर्णय स्थगन गरिएको छ । यातायात व्यवस्था विभागका निर्देशक प्रेमनाथ सिंहले भने, ‘हाललाई थप छलफल गर्ने गरी स्थगन गर्दैर्छौं ।’ विभागस्रोतका अनुसार भाडा बढाउने निर्णय भए लगतै प्रधानमन्त्री कार्यालयले चासो देखाएको थियो । बजेट पारित नहुँदै भाडा बढाउँदा सरकारको तीव्र आलोचना हुने भन्दै भाडा वृद्धिको निर्णय तत्काल स्थगन गर्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको स्रोतको दाबी छ ।