सुरुआती दिनहरुमा सुरक्षित ठानिएको ई–चुरोटहरु जस्तै भ्यूज र जूल पनि निकै हानिकारक छन् । यी चुरोटहरु नियमित सेवन गरेमा मानिस कुलतमा फस्ने र त्यसबाट अन्ततोगत्वा मस्तिष्कका कोषिकाहरु मर्ने वा रोगी हुन्छ, अध्ययनमा भनिएको छ । अध्ययनकी लेखिका अटेना जाहेदीले निकोटिन भएका कुनै पनि वस्तुको सेवन मानव स्वास्थ्यका लागि हानिकारक देखिएको पनि बताउनुभयो ।

उहाँले ई–चुरोटको धुँवा मस्तिष्कसम्म पुग्ने गरेकाले पनि यो निकै खतरनाक देखिएको बताउनुभयो । जाहेदीले मस्तिष्क विकासका क्रममा गम्भीर मोडमा रहने भएकाले युवा र गर्भवतीले त अझ बढी ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले युवा, किशोरावस्था वा गर्भवती हुँदा मस्तिष्कमा ई–चुरोटले बहुआयामिक असर पार्ने गरेको अध्ययनबाट देखिएको छ भन्नुभयो । उहाँले यस्तो उमेरमा ई–चुरोट सेवनले स्मरणशक्ति, सिकाई र बोधमा ठूलो क्षति पुग्ने बताउनुभयो ।
अध्ययन सहयोगी टाल्बोटले पनि जहाँसुकै पाइने ई–चुरोटमा निकोटिन हुने र त्यसले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने बताउनुभयो ।



