असार १७, काठमाडौं ।
नेपाल र नेपालीको सम्वृद्धीको आधार बिद्युत उत्पादन एक हो भनेर सरकारले योजनावद्ध विद्युत उत्पादनमा सक्रियता देखाई रहेको अवस्थामा कुलेखानी तेस्रो जलविद्युत् आयोजनाबाट एक महीनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ।
मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित सानुटारमा निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको विद्युत्गृहमा बाँकी उपकरण र तारहरु जडान गरिएपछि करीब एक महीनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको सो आयोजनाले जनाएको छ। भैंसेस्थित कुलेखानी दोस्रोबाट निस्किएको पानीलाई करीब चार किलोमिटर सुरुङ मार्गबाट ल्याई विद्युत्गृहमा परीक्षण उत्पादन गरिसकिएकोे सो आयोजनाले जनाएको छ।
कुलेखानी तेस्रोबाट १४ मेगावाट विद्युत् उत्पादन हुनेछ। नेपाल विद्युत् प्राधिकरणको रु चार अर्ब ५० करोड रकम लगानीमा कुलेखानी तेस्रो विद्युत् आयोजनाको निर्माण गरिएको थियो। चिनियाँ प्राविधिक टोलीले यही असार महीनाभित्र कुलेखानी तेस्रोको निर्माणाधीन विद्युत्गृहको बाँकी कामको अनुगमन गरी थप उपकरणहरुका साथै तारहरुको जडान गर्ने र छिट्टै विद्युत्को उत्पादन भई काठमाडौँस्थित केन्द्रीय प्रसारणमा जोड्ने कुलेखानी तेस्रो आयोजनाका प्रमुख सुभाषबाबु मिश्रले जानकारी दिए। अहिले कुलेखानी प्रथमबाट ६० र दोस्रोबाट ३२ गरी ९२ मेगावाट विद्युत् उतपादन हुँदै आएको छ।