Aamsanchar

शुक्रबारको महत्व बारे जानकारी प्राप्त गर्नुहोस्

Author Image
शुक्रवार, साउन ३, २०७६

शुक्रबारको व्रत शुक्र ग्रहको प्रतिकूल फलको निवारणका लागि तथा विवाह, सन्तति आदि भौतिक सुख समृद्धिका निम्ति लिने प्रचलन छ । श्रावण महिनाको पहिलो शुक्रबारबाट यो व्रतको प्रारम्भ गरेमा विशेषरूपमा लक्ष्मी कृपा प्राप्त हुन्छ भन्ने मान्यता छ। व्रतको दिन स्नान गरी शुद्ध भई श्वेत वस्त्रादि धारण गरी लक्ष्मीदेवीलाई धूप, दियो, चामल, चिनी, सुपारी आदिले पूजा गरी सेतो मिठाई, खिर जस्ता सेतो रङ्गका खाद्यपदार्थ अर्पण गरी त्यो प्रसाद बच्चाहरूलाई बाँडिदिनु पर्दछ । ॐ शुक्राय नमः यो मन्त्र ३ माला हरेक पटक जप्ने गर्नु पर्दछ, व्रतको दिन भोजन गर्दा एक छाक नुन खान निषेध गरिएको छ र खाद्य पदार्थमा सेतो चीज बढी प्रयोग गर्ने चलन छ । व्रत सकिएपछि बालबालिका र ब्राह्मणलाई यथाशक्य दान, दक्षिणा दिएर खुशी बनाउनु पर्छ । यो व्रत कमसेकम २१ वटा शुक्रबारसम्म लिनु अनिवार्य छ ।

व्रतकथा
माणिकपुर नामको कुनै एउटा नगरमा कायस्थ, ब्राह्मण र वैश्यका पुत्रहरू बीचमा गहिरो मित्रता थियो । तिनीहरू प्रायशः सँगसँगै बस्ने, उठ्ने, सुत्ने, खाने र हिँड्ने गर्दथे । तीनै जनाको विवाह भैसकेको थियो । ब्राह्मण र कायस्थका छोराहरूको त मैतालु समेत ल्याइसकेको थियो तर वैश्यपुत्रको द्विरागमन हुन भने बाँकी थियो । एक दिन वैश्यपुत्रसित उसका साथीहरूले भने( अरे यार१ तिम्रा घरमा नोकरचाकर छन्, धनको भण्डार छ तापनि तिम्री पत्नीका अभावमा घर बिरानो र शून्य भएको अनुभूति हुन्छ, त्यसैले हे मित्र१ जाऊ ससुराल गएर आफ्नी पत्नीलाई लिएर आऊ । दुबै साथीका कुरा सुनेपछि वैश्यपुत्र धनराजले आफ्नी पत्नी कुसुमलाई घर ल्याउने निश्चय गर्यो ।

अर्को दिन धनराजले आफ्ना मातापितासित आफू कुसुमलाई घर लिई आउन ससुराली जाने कुरा बतायो । नवविवाहिता पुत्रबधूको द्विरागमन ९ माइतबाट पहिलोचोटि घर फर्कने कृत्य० भएको थिएन । १६ दिनपछि मैतालु लाँदा साइत हेराउनु पर्ने ज्योतिषीय मत छ, छोराका यस्ता कुरा सुनेर उसका बाबुआमा छक्क परे । अनि छोरालाई भने( बाबु १ हिजोआज शुक्रास्तको समय छ, त्यसैले अहिले बुहारीको आगमन राम्रो, उचित र फलदायी हुँदैन । केही समय प्रतिक्षा गर, राम्रो साइत निस्केपछि ज्योतिषीको सल्लाहबमोजिम लिन जाँउला । तर धनराज जिद्दी मान्छे थियो, उसलाई आमाबाबुका कुरा मन परेनन् र स्वीकृतिबिना नै ससुराल पुग्यो । ससुराली पुग्दा उसलाई सासूससुराले असाध्यै जोड्तोडले स्वागत गरे । बेलुकाको खानपिनपछि धनराजले आफू आउने उद्देश्य बतायो र भन्यो ( म कुसुमलाई लिन आएको हुँ । ज्वाईँका कुरा सुनेर सासूससुरा पनि छक्क परे, अनि उसका बाबुआमाले भनेकै कुरा दोहर्याउँदै भन्न थाले( ज्वाईँ नारायण१ हिजोआज शुक्र अस्त छन्, यस्तो वेलामा छोरीलाई माइतबाट विदाइ गर्ने चलन छैन, अतः हजुर केही दिन यहीँ राज गर्नुहवस्, समुचित शकुन हेरेर हामी विदाइ गर्न तैयार छौं । जिद्दी धनराजले त्यसै दिन विदा गर्ने हठ गर्न थाल्यो । सबैले सम्झाइबुझाइ गर्द पनि ऊ लिएरै जाने अडानमा यथावत् रह्यो । आखिरमा ज्वाईँको जिदमा घुँडा टेक्नै पर्यो, सासुससुराले कुसुमलाई विदावारी गरे ।

आफ्नी पत्नी कुसुमलाई लिएर धनराज गृहनगर प्रस्थान गर्यो । फर्कँदै गर्दा बाटोमा गोरुगाडामा जोतिएका दुबै गोरु अनायासै बेस्सरी कुद्न थाले । यसरी बैलगाडाका गोरु अचानक दौंडँदा बाटोमा रहेको एउटा ठूलो ढुङ्गामा ठोक्किएर गाडाको एउटा पाङ्ग्रो भाँचियो । परिणामतः गाडामा आएको असन्तुलनले कुसुम गाडाबाट तल लडी र उसलाई चोट पनि लाग्यो । दुबैले अब बाँकी यात्रा पैदल तय गर्नु पर्ने भयो । सुनसान र एकान्त मार्गको लामो यात्रामा हिँड्ने क्रममा तिनीहरू डाकाबाट पनि लुटिए । तिनीहरूको सारा सम्पत्ति, गरगहना र लुगाफाटा समेत डाकाले खोसेर लगे । बिचराहरू जसैतसै भोकैप्यासै घर पुगे ।

उता घर पुगेपछि पनि आराम गर्ने क्रममा धनराजसुतेकै स्थानमा आएर एउटा सर्पले उसलाई ठुङ्यो । सेठजीले ठूल्ठूला डाक्टर(वैद्य बोलाएर सर्पविष शमन गर्ने उपाय गर्न लगाए तर कोही पनि सफल भएन । त्यसपछि टाढाटाढाबाट सँपेराहरू बोलाईए, तिनले पनि धनराजलाई बचाउन सकेनन् । धनराजको मृत्यु भयो । शोकग्रस्त सेठजीले छोराको असमयमा मृत्यु किन भयो भनी विद्वान् पण्डितहरू बोलाएर छलफल गर्दा ती विद्वानले भने ( सेठजी) हजुरको पुत्रले शुक्र अस्त भएका अवसरमा बुहारीलाई मैतालु लिएर आउनाले यो अवस्था सिर्जना भएको हो । यदि हजुरले तथा विशेषतः बुहारीले शुक्रवारका दिन विधिवत् व्रत लिएर, पूजा, आराधना र कथाश्रवण गरी प्रसाद वितरण, ब्राह्मणभोजन आदि समेत गरी प्रसादग्रहण गर्दा शुक्रदेवताको अनुकम्पाले धनराज पुनः जीवित हुनसक्छ ।

सेठजीले पण्डितहरूका मतलाई स्वीकार गरी मृतपुत्रको संस्कारादि कृत्य नगरी बुहारीका साथमा उसकै माइत पठाइदिए । सेठकी बुहारी कुसुमले माइत पुगेर शुक्रवारका दिनको व्रत र पूजा, पाठ सम्पादन गरी । उसले आफ्ना पतिबाट भएको भूलप्रति शुक्र देवतासित माफी मागी । त्यसैवेला धनराज निदाएर उठे झैं जुरुक्क उठ्यो । धनराज जीवित हुँदा सर्वत्र हर्षोत्सव मनाइयो । बुहारीले लिएको व्रतको प्रभावले छोरो धनराज जीवित भएको थाहा पाएपछि सेठसेठानीले पनि विधिविधानले शुक्रवारको व्रत लिए र बालबालिका, ब्राह्मण, दीनदुःखी र गरीबगुरुबाहरूलाई अन्न, वस्त्र र धन दान गरे । शुक्रउदय भए पछि धनराज आफ्नी पत्नी कुसुमका साथ पुनः घर फर्कियो । दुबै पति पत्नीले त्यसपछिका प्रत्येक शुक्रवारका दिन विधिवत् व्रत लिँदै शुक्रपूजा गर्न थाले । तिनीहरूको घरमा धन धान्य वर्षियो, समस्त कष्ट नाश भए र परिवारमा सबैजना आनन्दपूर्वक बस्न थाले ।श्रोत : विकिपिडिया

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 287

प्रतिक्रिया (०)

सम्बन्धित खबर