Aamsanchar

शिवको जटामा भएको गंंगाको महत्व संग जोडिन्छ अन्तिम सोमबार

Author Image
सोमवार, साउन २७, २०७६

सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गर्छन। बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो छ। काठमाडौंको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्ने बोलबम श्रद्धालुहरुको बिहानैदेखि घुइँचो छ। काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर, सिन्धुलीको सिद्धबाबा र कलानेश्वर, झापाको अर्जुनधारा, सताक्षी धाम लगायतका शिवालयहरुमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबार पूजा गर्ने र बोलबम मेला भर्नेहरुको घुइचो लागेको छ।

महिमा आज श्रावण महिनाको अन्तिम सोमबारको विशेष महिमा रहेको छ । सोमबारको स्वामी चन्द्रमा मन सम्बन्धी ग्रह हो । ग्रीष्म यामको गर्मीले गलित मनलाई शान्त बनाउन वर्षाको आवश्यक पर्छ । सोही वर्षायामा श्रावणमा पर्ने भएकाले चञ्चल मनलाई स्थिर बनाई मनमा सुन्दर भावको जागृत गराउन पनि सोमबार शिवजीको उपासना गरिन्छ । भगवान् शिवजीले चन्द्रमालाई शिरमा धारण गर्नु भएको छ । जसले विषको प्रभावलाई शान्त पार्न निरन्तर सहयोग गरिरहेको हुन्छ । भगवान्का शिरमा निवास गर्ने चन्द्रमा र सोही चन्द्रमाको बार सोमबार भएकाले साउनको सोमबार शिवउपासनाका लागि शुभ मानिन्छ । चन्द्रमा शिवजीका निम्ति प्रिय ग्रह हो । चन्द्रमाको बार नै सोमबार भएकाले साउनको सोमबारको विशेष महिमा रहेको पाउन सकिन्छ । यसैगरी समुद्र मन्थनका बेला उत्पन्न भएको कालकूट विष भगवान् शंकरले श्रावण महिनामा नै कण्ठमा धारण गर्नु भएको थियो । सो विषको प्रभावलाई शान्त गर्न देवताहरूले शिवजीलाई जल अर्पण गरेका थिए । उक्त समय वर्षा ऋतुको श्रावण महिना भएकाले श्रावणको सोमबार शिवजीको उपासना गर्नु विशेष शुभ मानिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 261

प्रतिक्रिया (०)

सम्बन्धित खबर