हरेक वर्षको अगस्ट १९ तारिखको दिनमा मानिसहरुलाई फोटोग्राफीको इतिहास बुझाउन, यसमा रुचि राख्ने मानिसहरुलाई प्रोत्साहन गर्न र व्यवसायिक रुपमा फोटोग्राफी गरेर बसिरहेका मानिसहरुको सम्मान गर्न विश्व फोटोग्राफी दिवस मनाइन्छ। आजको दिन विश्वभरका फोटोग्राफरहरुले आफुले खिचेका केहि उत्कृष्ट फोटोहरु दुनिया सामु प्रस्तुत गर्ने गर्दछन्। आफ्नो तस्वीर प्रस्तुत गर्नुको साथसाथै अरुले प्रस्तुत गरेको तस्वीर हेरेर त्यसको मर्म र भाव बुझ्न खोज्छन्।
फोटोग्राफर भन्नाले दिनभर हातमा क्यामेरा बोकेर, विभिन्न ठाउँ घुम्दै उत्कृष्ट तस्वीर निकाल्ने या फोटोग्राफीलाई नै आफ्नो व्यवसाय बनाउने मानिस भने पक्कै हैनन्। अहिले सबैको हातमा भएको मोबाइलले खिचेको फोटोले पनि थुप्रै भाव बोक्न सक्छन। तस्वीरलाई स्तरीय उच्च पिक्सेल भएको क्यामराले मात्र बनाउछ भन्ने बुझाइ राख्नु गलत हो। यदि तपाईहरुसँग पनि आफुले खिचेको कुनै प्रिय तस्वीर छ र तपाई त्यसलाई विश्वसामु देखाउन चाहनुहुन्छ भने आजको दिन तपाईको लागि महत्वपूर्ण हुन सक्छ।
संसारमा सबैभन्दा पहिलो तस्वीर सन् १८२६ मा फ्रान्समा खिचिएको थियो। त्यसबेला जोसेफ नाइस्फ़ोर नाइप्सीले हेलियोग्राफीको सहायताबाट पहिलो तस्वीर खिचेका थिए। हेलियोग्राफी भनेको पनि फोटोग्राफीकै एक प्रक्रिया हो। त्यतिबेला एउटा तस्वीर खिच्न निक्कै समय लाग्थ्यो। सबै भन्दा रोचक कुरा त के हो भने सायद कसैले पुरानो फोटोमा हासेका मान्छे कहिले भेट्दैन थिए। किनकि धेरै समय लाग्ने कारण सबैले आफ्नो हासो थामिराख्न सक्दैन थिए। त्यसबेला देखि अहिले सम्म फोटोग्राफीको तरिका र स्तरमा राम्रो परिवर्तन भएको छ।
तपाई हामीले नै फोटोग्राफीको विकासलाई नियाल्दै आएका छौ, रिल वाला क्यामरामा रिल (नेगेटिभ) बचाई बचाई फोटो खिचेका हामीले पछि डिजिटल क्यामरामा कमसेकम रिल जोगाउन संघर्ष गर्न परेन। त्यसपछि हात हातमा फोन अनि फोनको क्यामरा झन पछि झन स्तरीय हुदै आएपछि आफुलाई मन लागेको बेला तस्वीर खिच्नु कहिले गाह्रो भएन। तस्वीर पनि एक किसिमको अभिव्यक्ति हो। फोटोग्राफीको यो विकासले थुप्रै इच्छुक मानिसहरुलाई अभिव्यक्त हुन मदद पुर्याएको छ। सामाजीक सञ्जालले पनि यसमा ठुलो भूमिका खेलेको छ। अहिले सामाजीक सञ्जालको अवस्था यस्तो भएको छ कि विश्वभर एक मिनेट मै पनि लाखौ फोटोहरु कुनै न कुनै माध्यमबाट अपलोड भैरहेका हुन्छन्।
फोटोग्राफी छोडेर ठूलो भूल गरें
विसं ०३९ साउन ६ गते । घाम चन्द्रागिरिबाट क्रमशः ओरालो लाग्दै थियो । फोटोग्राफर नवीन चित्रकारलाई कसैले कानमा आएर छ्वास्स फुक्यो, “क्यामरा लिएर चाबहिलतिर जा, फोटो खिच्छस् क्यारे ! तेरो क्यामराको काम आउन सक्छ !”
उनी खंग्रङ्ग भए । मथिंगल घुमाए– के घटना घटेछ त चाबहिलतिर ?
बीपी कोइराला निकै बिरामी छन् भन्ने सुनेका थिए, कतै केही त भएन ?
कान फुक्नेहरू पञ्चायतका सीआईडी थिए । उनीहरूको बासै न्युरोडको पीपलबोटमा हुन्थ्यो । दिउँसभरिजसो त्यहीँ बसेर तत्कालीन सत्तालाई उनीहरू सूचना पुर्याउँथे । नवीन पनि टहलाउन प्रायः त्यता गइरहन्थे ।
फोटोग्राफर न परे, काँधमा क्यामरा झुन्ड्याएर चाबहिल हानिन लागेका थिए । झल्याँस्स याद आयो– ममात्र गएर कहाँ भयो र ? भिनाजुलाई पनि त सँगै लैजानुपर्यो नि !
नवीन चित्रकार र उनका भिनाजु पुष्प चित्रकार बीच बाटोमा मात्रै पुगेका थिए । अघिदेखि धुम्मिएको रहस्यको आकाश खुलिहाल्यो– बीपीको भौतिक चोला अस्ताइसकेछ ! खबर सुन्दा मुटुको धड्कन बन्द होलाजस्तो भयो । हातगोडा लल्याकलुलुक भए । पानी छम्कनुजसरी छाती खरो भएर आयो !
हतार–हतार बीपी निवासतिर पाइला मोडे । चाबहिल पुग्दा क्यान्सरले सिकिस्त नेपाली राजनीतिका शिखर पुरुष बीपी निस्चेष्ठ भइसकेका रहेछन् । शरीर लमतन्न सुताइएको थियो, आफन्तहरू रोइकराइ गरिरहेका थिए !
उनले हातले क्यामरा उठाएर खिचिक्क पारे । निधन भएको तात्तातो दृश्य क्यामरामा कैद गर्ने पहिलो फोटोग्राफर उनै थिए । बीपीको त्यो क्षणको फोटो खिच्न नपरे हुन्थ्यो, उनलाई लागेको थियो । जस्तै क्षणमा क्यामरा तेर्स्यानुपर्ने कस्तो पेसा ? मन भावनाको पातालमा पुग्थ्यो र आफैँलाई प्रश्न तेर्स्याउन थाल्थ्यो ! बीपी उनका आदर्श नेता थिए ।
“एउटा आदर्शवान् नेताको शरीर अस्ताएको दृश्य कैद गर्दा मेरा हात लगलगी काँपे । आँखा रसाइरह्यो । मुटु निचोरिएझैँ भयो,” उनले सम्झिए ।
बीपीको शव र्यालीमा लाखौँ जनता सडकमा ओर्लिए । भारतका नेता चन्द्रशेखर पनि शव र्यालीमा सहभागी हुन आएका थिए । शव र्याली बागबजार आइपुग्दा उनले दुर्लभ तस्बिर कैद गरे । उनी स्मरण गर्छन्, “चन्द्रशेखर, गणेशमान, किसुनजीको बीचमा दिवंगत नेता बीपीको तस्बिर मैले नै कैद गरेको हुँ । त्यो तस्बिर त्यसबेलाका सबैजसो पत्रपत्रिकाले छापे ।”
त्यतिमात्र होइन, सञ्चारमाध्यममा सर्वाधिक प्रयोग हुने बीपीको दाह्री पालेको तस्बिर उनै नवीन चित्रकारको ‘पोट्रेट’ हो ।
० ० ०
पिता हीराबहादुर चित्रकार फोटोग्राफीमा पोख्त थिए । र त, उनले कलमभन्दा पहिला क्यामराको लेन्स चलाउने सिके, जाने । त्यसो त उनका कान्छा बुबा पुष्प चित्रकार साहित्य सिर्जना गर्थे र फोटोग्राफीमा पनि रुची थियो उनको । “उहाँहरूकै छत्रछायामा फोटोग्राफी गर्ने मौका पाएँ, पछि २०२९ सालमा ‘इन्डियन इन्ष्टिच्युट अफ मास कम्युनिकेशन’मा अडियो भिजुअलसम्बन्धी अध्ययन गरेपश्चात फोटोग्राफीको ‘प्यासन’ झनै झाँगियो,” उनी स्मरण गर्छन् ।
प्रोफेसर ध्रुव चौधरीले उनलाई फोटोग्राफी पढाएका हुन् । इन्स्टिच्युटमा फोटोग्राफी पढ्न भारतका धुरन्धर फोटोग्राफर आउँथे । उनीहरूबाटै नवीनले फोटोग्राफी कला उजिल्याउने मौका पाए ।
० ० ०
पुरुषोत्तम श्रेष्ठ, नवीनका बुबाका उमेरका पाका थिए । उनले नवीन र पुरुषोत्तमलाल श्रेष्ठलाई भने, “आओ केटाकेटी हो, तिमीहरूलाई एक ठाउँमा लिएर जान्छु ।”
केटाकेटी भएकाले नवीनलाई खासै थाहा भएन, पछि लागे । पछि बुझ्दा त उनलाई गणेशमानजीको घरमा पो लगिएको रहेछ ! घरको भित्तामा गणेशमान जेलमा बस्दा राणाहरूले कोर्राले हान्दै गरेको फोटो रहेछ, त्यो छातीमा टाँसेर टोल–टोल पो डुल्नुपर्ने भयो । सुरुमा उनी त्यो ‘स्केच’ देखेर तीन छक परे– यस्तो दुःखदायी फोटोको रहस्य के होला ?
‘वीर गणेशमानलाई भोट दिनुहोस्, प्रजातन्त्र फुल्छ जरुर’ भन्ने गीत गाएर उनीहरू दिनभरजसो टोल घुम्थे । “त्यसरी गीत गायो, बेलुका फर्कन बेलामा त्यो तस्बिर त्यहीँ बुझाउँथ्यौँ र खाजा खाएर घर फर्कन्थ्यौँ,” उनी स्मरण गर्छन् ।
०१५ सालको आम निर्वाचनमा वटु टोलमा त्यसरी घुमिसकेपछि उनको मथिङ्गलमा प्रजातन्त्र र कांग्रेसप्रति जरा गाडियो । अझ भनौँ, गणेशमान सिंहप्रति असीम श्रद्धा जाग्यो । उनी थप भन्छन्, “मेरो फोटोग्राफी करिअर र राजनीतिको चेत गणेशमानजीकै सान्नीध्यमा हुर्किएको हो, गणेशमान मेरो ‘पोलिटिकल आइडल’ हो ।”
० ० ०
०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर बीपी कोइराला स्वदेश फर्कंदा नवीन चित्रकार क्यामरा बोकेर विमानस्थल पुगेका थिए । उनलाई धूमिल सम्झनामात्रै छ । भन्छन्, “मैले त्योबेला त्यति राम्रोसँग तस्बिर कैद गर्न पाइनँ । हुलुमुल, भीडभाड थियो ।
परिस्थिति पनि अर्कै थियो । तथापि त्यसबेलाका केही तस्बिरहरू अझै मसँग सुरक्षित छन् ।”
०३३ सालमा गणेशमानसँग पुनः भेट भयो उनको । गणेशमानले उनलाई भने, “नवीन तिमी त साहित्यकार र फोटोग्राफीमा पनि रुचि भएको मान्छे तर प्रजातन्त्र सुदृढ नहुँदासम्म तिम्रा सपना मुस्कुराउन पाउँदैनन् है, विचार पुर्याऊ ।”
त्यसपछि गणेशमानप्रति उनको श्रद्धा अझै जाग्यो र राजनीतितिरै बढी संलग्न हुन थाले । तत्क्षण उनी नेपाल भाषा पत्रिकामा आबद्ध भएर फोटोग्राफी गर्दै थिए । पद्मरत्न तुलाधर त्यसका सम्पादक थिए ।
“तिमी पत्रकारिता पढेको मान्छे, मलाई मद्दत गर न नवीन भनेपछि उहाँसँग आबद्ध भएर काम गर्न थालेको हुँ, राजनीतिक सिद्धान्त नमिले पनि भाषिक हिसाबले पछि परेका नेवारी समुदायको उत्थान र विकासका थुप्रै सवालमा उहाँको र मेरो कुरा मिल्थ्यो,” उनले पद्मरत्नसँग काम गर्दाको अनुभव सुनाए । त्यसबेला उनले नै गणेशमानलाई आग्रह गरेर अन्तर्वार्ताका लागि समय मिलाएका थिए ।
“गणेशमानजीसँग निकट रहे पनि फोटोग्राफीलाई पनि निरन्तरता दिँदै गएँ, आफूसँग भएको सीप तथा औजार प्रयोग गर्दै फोटोग्राफी पत्रकारितामा पनि संलग्न भएँ । त्यो बेला मसँग ‘वान ट्वान्टी’को क्यामरा थियो । त्यसमा रोलिल्फेक्स थियो । मामिया–३३० आदि क्यामरा पनि प्रयोग गर्थें । गणेशमानजीको फोटो तिनै क्यामराले खिचेको हुँ,” उनको ओठमा हाँसो फिँजियो ।
भारतका रघु राय र टी काशिनाथको प्रभाव उनमा पनि परेको रहेछ । त्यस्तै, २० औं शताब्दीका उत्कृष्ट फोटोग्राफर युसुफ क्रासको प्रभाव पनि उनमा पर्यो । युसुफ संसारकै ‘नामुद पोट्रेटर’ थिए । ठुल्ठूला राष्ट्र प्रमुखहरूको मात्रै फोटो खिच्थे । उनले खिचेको बेलायतका पूर्वप्रधानमन्त्री चर्चिलको फोटो संसार प्रशिद्ध छ । चर्चिलको मुखमा ‘सिगार’ नभएको फोटो भेट्न मुस्किल छ तर युसुफ क्रासले खिचेको फोटोमा ‘सिगार’ थिएन । बडा चलाखीपूर्वक उनले त्यो फोटो खिचेका थिए ।
उनी अरूले पोट्रेट कसरी खिच्दारहेछन् भनेर खोज अन्वेषण गर्थे र आफू पनि त्यसैगरी खिच्ने प्रयत्न गर्थे । भन्छन्, “पोट्रेट खिच्नु असाध्यै कठिन कुरा हो । पासपोर्ट साइजको फोटो खिचेजस्तो हुँदैन । पोट्रेटमा उसको व्यक्तित्व पूर्ण रूपमा प्रतिविम्बित गर्नुपर्छ ।
वास्तवमा उनीभित्रका ‘हिडन’ कुराहरू फोटोमा सर्लक्कै उतार्नुपर्छ । ताकि फोटो हेर्दा मान्छेले उसको इतिवृत्तान्त कण्ठस्थ पार्न सकोस् ! भनिन्छ, एउटा तस्बिरले हजार शब्दबराबरको भाव बोक्नुपर्छ ।”
गणेशमान, बीपी, किसुनजी, गिरिजाप्रसादका अतिरिक्त उनले राजा वीरेन्द्रको पनि पोट्रेट खिचेका छन् । उनको फोटोबाट आह्लादित भएर दरबारले ‘रोयल फ्यामिली’को फोटो पनि खिच्न बोलाएको थियो । फोटो खिच्न फोटो कन्सर्नबाट अर्जुन थापा, भैरव प्रकाश, मंगल, गोपाल चित्रकार आदि पुगेका थिए । सबैले फोटो खिचेर दरबारमा बुझाए । मामिया–३३० बाट उनले ‘रोयल फ्यामिली’को फोटो खिचेका थिए । तर, अर्जुन थापा र नवीन चित्रकार दरबारको छनोटमा परे ।
स्टेट भिजिटका क्रममा दरबारले थापालाई हवाना लिएर गयो भने चित्रकार जर्मन भ्रमणका लागि छानिए ।
वीरेन्द्रको एउटा बानी रहेछ । यात्राका क्रममा जहाजभित्र उठेर सोध्न आउने– तिमीहरूलाई बसेको ठीक छ कि छैन भनेर । असुविधा पो केही छ कि ! खाजा÷खाना के–कस्तो भइरहेको छ ! आदि ।
अस्ट्रिया भ्रमणका बेला शाकाहारी भएकाले अरुले लन्च खाइरहँदा नवीन चुपचाप बसे । केही नखाई बसेको देखेर वीरेन्द्रको आग्रहमा शान्तकुमार जर्नेलले उनलाई सोधे, “सरकारबाट हुकुम भयो, तपाईं किन नखाई बस्नुभएको ? केही अप्ठ्यारो पो भयो कि ?”
“म माछामासु खान्नँ, मेरो लागि छुट्टै व्यवस्था हुँदैछ ?” चित्रकारले यसो भनेपछि राजा मुसुक्क हाँसे ।
“राजा भएर पनि जनताको सामान्य कुरामा चासो र चिन्ता राख्ने बानी वीरेन्द्रमा रहेछ, अहिलेका नेताहरूको त्यो कहाँ पाउनु ?” उनको अनुहारमा निराशा सल्बलायो ।
नवीनको विचारमा बीपी पनि सर्वज्ञाता थिए । यतिसम्म कि पोट्रेट खिचेपिच्छे नवीनलाई सोध्थे रे– कुन क्यामराले खिच्यौ ? कति एमएमको लेन्स राख्यौ ? फ्ल्यास राम्रो आयो त ?
छक्क पर्थे उनी– के मात्र जान्न बाँकी होला बीपीले !
त्यसबेला उनले मामिया–६३५ प्रयोग गर्थे । बीपी क्यामरा ओल्टाइपल्टाई पार्थे र अन्तिममा मुसुक्क हाँस्थे– गज्जबकै क्यामरा रहेछ !
सन् १९८१ मा चीनमा फोटो प्रदर्शनी भएको थियो । त्यसमा उनी तृतीय भएका थिए । नेवारी किसानहरूले चर्खामा धागो बुन्दै गरेको फोटो उनले प्रदर्शनीमा पठाएका थिए ।
जसले कांग्रेस–कम्युनिस्ट मिलायो
कांग्रेस–कम्युनिस्ट नमिलेसम्म मुलुकमा बहुदलीय व्यवस्था आउँदैन भन्नेमा उनी ढुक्क थिए । भनौँ, पद्मरत्न तुलाधरको कम्युनिस्टप्रतिको झुकाव र उनको प्रजातन्त्रको अथक लगावले जुराएको संयोग थियो त्यो । उनको मनमा हठात् विचार पैदा भयो– अब बाम र कांग्रेसलाई एकै ठाउँमा ल्याएर पञ्चायतविरुद्ध जेहाद छेड्नुपर्यो । उनले तारतम्य मिलाए । त्यसमा कृष्णगोपाल श्रेष्ठले पनि सघाए उनलाई ।
बागबजारस्थित श्रीराम श्रेष्ठको घरमा पद्मरत्न तुलाधर, पुष्करलाल श्रेष्ठ, नवीन चित्रकारलगायत बसेर कांग्रेस–कम्युनिस्ट मिलेर संघर्ष गर्ने पृष्ठभूमि तयार पार्ने, गणेशमान र मदन भण्डारीबीच भेटको बन्दोबस्त मिलाउने उनै हुन् । ०४६ सालको आन्दोलनमा कांग्रेस–कम्युनिस्ट गठबन्धन तयार पार्ने सूत्रधार उनी पनि हुन् भनेर नेपाली राजनीतिमा कमैलाई मात्रै थाहा छ ।
० ० ०
राष्ट्रिय मेलमिलापको नीति लिएर भारत प्रवासित भएका नेताहरू स्वदेश फर्केपछि दसैँको कोजाग्रत पूर्णिमाका दिन कांग्रेसले चियापान गर्ने परम्परा थालनी गर्यो । उनी बीपीको निवास चाबहिल पुगेर चियापानको फोटो खिच्थे । बीपी बितेपछि त्यो परम्परा गणेशमानले सुरु गरे ।
एक वर्ष सूर्यबहादुर थापालगायत पञ्चायतका सबै नेताहरूलाई आमन्त्रण गरिएको रहेछ । उनले क्यामरा तेस्र्याए । फोटो खिच्न लागेको देखेर सूर्यबहादुरले ओठ तन्काइहाले, “ल ल खिच्नुस् खिच्नुस्, तपाईंलाई म आएको थिएँ भन्ने प्रमाण चाहिएको होला, होइन ?”
त्यहाँ उपस्थित सबै जना गलल्ल हाँसे । उनी सम्झन्छन्, “सूर्यबहादुर साह्रै रुखा, गजधम्म परेर बस्थे !”
उनले मधु दण्डवते, चन्द्रशेखरको पनि फोटो लिएका छन् । फोटो खिच्ने क्रममा दण्डवते झर्कन्थे रे ! उनी सम्झन्छन्, “बसेको नमिलेकाले मैले यसरी बस्नुस् भनेर टाउकोमा हात के पु¥याएको थिएँ– ह्वाट आर यु डुइङ ? भन्दै झर्कनुभयो ।”
उनले चन्द्रशेखरको पनि त्यसरी नै खिचेका थिए ।
“उहाँ त ज्यादै सरल मान्छे । एकपटक हाम्रो कोही नेता (मान्छे स्मरण भएन) बिरामी हुँदा वीर अस्पतालमा भेट्न आउनुभएको थियो, त्यही बेला फोटो खिचेको हुँ,” उनले अनुहार उज्यालो पारे ।
लेन्सलाई उनी कुची मान्थे र त्यहाँबाट सुन्दर दृश्य कैद गर्थे । राजनीतिक क्रियाशीलतासँगै उनको क्यामरा पनि ‘पोलिटिकल क्यामरा’ बन्न पुग्यो । राजनीतितिर बढी सक्रिय हुन थाले । उनी फोटोग्राफी गर्थे तर त्योभन्दा बढी राजनीति गर्थे । तर, पार्टीमा लागेकाहरू ऐनमौकामा ‘यो त कहाँ राजनीतिककर्मी हो र, फोटो खिच्दै हिँड्छ’ भन्न पछि पर्दैनथे । त्यसैले ०४७ सालको संविधान जारी भएको दिनदेखि उनको फोटोग्राफी करिअर ओझेल पर्यो । अझ भनौँ, चटक्कै छाडेर उनी पूर्णकालीन राजनीतिमा होमिए ।
अहिले उनी कांग्रेसको महासमिति सदस्य छन् । नेपाल भाषाको उत्थान र विकासमा सक्रिय छन् । साहित्य–साधना र सिर्जनामा दत्तचित्त बनेर लागिपरेका छन् । बुद्धिजमबारे खोज अन्वेषणमा केन्द्रित भइरहेका छन् । तर, फोटोग्राफीबाट जति आनन्द अरु कुनै कर्मबाट पाउन सकिराखेका छैनन् ।
“फोटोग्राफी छाडेर मैले निकै गल्ती पो गरेछु !” उनलाई अहिले थकथक लाग्छ ।
कसैकसैले क्यामरा तेर्स्याउँदा उनी नोस्टाल्जिक हुन्छन् । फोटोग्राफी कत्रो ‘प्यासन’ थियो । कसरी अवसान हुन पुग्यो, धत् !
फोटोग्राफी तलतल मेट्न अहिले उनी आफूले खिचेर राखेका पुराना तस्बिरहरू समेटिएको तस्बिर–संग्रह बजारमा ल्याउने तयारीमा जुटेका छन् ।
अन्तिममा भने, “अरुले क्यामरा तेर्स्याएको देख्दा तलतल लागेर आउँछ । यत्रा ठूल्ठूला इभेन्टहरू छुटे ! फोटोग्राफी छोडेर जीवनकालमा ठूलो भूल गरें मैले !”