काठमाडौँ,

सङ्घीय संसद्, प्रतिनिधिसभाका सांसदले दिन प्रतिदिन सडक दुर्घटना बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद सरिता गिरीले पछिल्लो समयमा सडक दुर्घटना झन झन बढ्दै गएको भन्दै त्यसबारेमा अध्ययन गरेर न्यूनीकरण गर्न आग्रह गर्नुभयो ।

सांसद महेन्द्रराय यादवले यही साउन २३ गते राति धादिङको गजुरीमा भएको सवारी दुर्घटनामा परी २५ जना बेपत्ता हुँदासमेत सरकारले गम्भीरतापूर्वक नलिएको भन्दै आपत्ति जनाउनुभयो ।

सांसद मीना पाण्डेले देशको विभिन्न स्थानमा बढिरहेको सडक दुर्घटना न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद यशोधा गुरुङ सुवेदीले मनाङ जिल्लामा आएको पहिरोका कारण यातायात अवरुद्ध भएको भन्दै सरकारको ध्यानाकषर्ण गराउनुभयो ।
सांसद यज्ञबहादुर बोगटीले अछाम जिल्लाको विभिन्न स्थानमा भएको चट्याङबाट आठ जना गम्भीर घाइते भएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले अछाममा रहेको पुरानो दरबारको पुनःनिर्माण जतिसक्दो चाँडो होस् भन्नुभयो ।
सांसद रेणुका गुरुङले बाध र सीमा विवादबारे भारतसँग छलफलबाट समस्याको समाधान गर्नुपर्ने माग गर्नुभयो । सांसद प्रेम सुवालले भक्तपुर क्यान्सर अस्पतालमा भएको व्यवस्थापन परिवर्तन भए पनि सेवामा कुनै परिवर्तन नभएको प्रष्ट पार्नुभयो ।
सांसद डिला सङ्ग्रौला पन्तले सरकारले सरकारी सञ्चारमाध्यमलाई कार्यकर्ता भर्ना गर्ने केन्द्र बनाएको आरोप लगाउनुभयो । सांसद शेरबहादुर तामाङ र महेश बस्नेतले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

