Aamsanchar

निस्कोटमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार

Author Image
शनिवार, भदौ ७, २०७६

म्याग्दी, 

म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको छ । गाउँपालिका र नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रको सहयोगमा निस्कोटका ११९ घरमा विद्युतीकरण गरिएको हो ।

साविक निस्कोट गाविसको ६ नम्बर वडा मल्कवाङ, गाउँफाँटमा यसै हप्तादेखि केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको वडाध्यक्ष टङ्कप्रसाद पुनले जानकारी दिनुभयो । निस्कोटमा विद्युतीकरणका लागि मालिका गाउँपालिकाले आर्थिक वर्ष २०७४÷७५ मा रु १२ लाख र आव २०७५÷६७ मा रु पाँच लाख विनियोजन गरिएको थियो ।

विद्युत् प्राधिकरणले ठेक्कामार्फत मुख्य लाइन तान्ने, पोल गाड्ने र ट्रान्सफर्मर जडान गरेको थियो । गाउँपालिकाको सहयोगमा शाखा लाइन विस्तार गरिएको हो । एशियाली विकास बैंकको सहयोगमा साविक १ र २ नम्बर वडामा विद्युतीकरण गर्न योजना सञ्चालन भएको छ । खोप्ती र सिरदीको बस्तीमा केही वर्षअघिनै विद्युतीकरण भएको थियो ।

साविकको ४, ८, ७ र ५ नम्बर वडाका करीब १५० घरधुरीमा यसपालि विद्युत् विस्तार गर्ने योजना छ । विद्युत् सुविधा भएपछि स्थानीयवासीको दैनिक जीवनयापनमा सहज भएको छ । यसअघि उज्यालोका लागि लघु जलविद्युत् परियोजना, सौर्य ऊर्जा र टुकीमा निर्भर थिए ।

उज्यालोका लागि बत्ती बाल्न, टेलिभिजन हेर्न, मोबाइल, ल्यापटपलगायत विद्युतीय उपकरण चलाउन सहज भएको छ । फर्निचर, राइसमिल, कुखुरापालनलगायत व्यवसाय र उद्योग सञ्चालन हुन थालेको छ ।आव २०७५÷७६ मा म्याग्दीका ७११ घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार गरेको विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रले धौलागिरि गाउँपालिकाको ताकम र मुनामा थप एक हजार घरधुरीमा विद्युत् विस्तारको तयारी भएको जनाएको छ ।गत वर्ष धौलागिरि गाउँपालिकाको धारापानी, मालिका गाउँपालिकाको बाइन्दफाँट, दिच्याम, मङ्गलाको सातबिसे, नेटामा गत आवमा विद्युत् विस्तार भएको केन्द्रका प्रमुख नेत्रमणि न्यौपानेले बताउनुभयो ।

म्याग्दीमा २४ हजार घरधुरीको बसोबास छ । पर्वतको जलजला गाउँपालिकाको मल्लाज क्षेत्रसहित बेनी वितरण केन्द्रअन्तर्गत १६ हजार ३०० उपभोक्ता छन् ।म्याग्दीमा यस वर्ष केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार गर्न सिँचाइ, ऊर्जा तथा जलस्रोत मन्त्रालयले दुई वटा शीर्षकमा रु १२ करोड ८० लाख बजेट विनियोजन गरेको थियो ।

४५ मध्ये ११ वटा वडामा केन्द्रीय प्रसारण लाइनको विद्युत् पुगेको छैन । पिक आवरको समयमा चार मेगावाट विद्युत् खपत हुने गर्छ । गत आवमा रु सात करोड ३७ लाख ४१ हजार ७१३ विद्युत् महशुल सङ्कलन गरेको सहलेखा अधिकृत रामप्रसाद मुडभरीले बताउनुभयो । प्राधिकरणले रु आठ लाख २५ हजार २२७ महशुलको बक्यौता उठाउन बाँकी छ ।

Views: 177

प्रतिक्रिया (०)

सम्बन्धित खबर