Aamsanchar

निजी खर्चमा भ्रमण वर्ष २०२० को प्रचारमा ट्राभल संघ झापा

Author Image
शनिवार, भदौ ७, २०७६

सिक्किम । नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० नजिकिँदै गर्दा निजीक्षेत्र यसको प्रचार प्रसारमा निक्कै लागि परेको छ । सरकारले सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्रियाउने महत्वकाँक्षी योजना अघि सारेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्राईले मुलुकको पर्यटन विकासका लागि मन्त्रालयले विभिन्न काम अगाडि सारेर काम गरिरहेको बताइरहेका बखत ट्राभल संघ झापाले भ्रमण वर्ष २०२० कार्यक्रम सफलरुपमा सम्पन्न गर्नका लागि प्रचार प्रसार गर्ने उद्घेश्यले ५ दिने भारतको सिक्किम राज्यको भ्रमण तथा यहाँका पर्यटन, होटललगायत अन्य व्यवसायीहरुसँग छलफल तथा अन्तरक्रिया गदैं भारतका विभिन्न ठाउँबाट पर्यटक पठाइदिन आग्रह गरेको छ । नेपाली टोलीलाई सिक्किमका पर्यटन व्यवसायी तथा अन्य अधिकारीहरुले सिक्किममा स्वागत तथा सम्मान गरेका थिए ।

पर्यटन वर्ष २०२० मा २० लाख पर्यटक भित्रियाउने सरकारको लक्ष्य अनुरुप त्यसलाई पुरा गर्न संघ निक्कै लागि परेको अध्यक्ष निरबहादुर कार्की नेत्रले बताउनुभयो । प्रदेश नम्बर १ को उद्योग, पर्यटन वन तथा वाताबरण मन्त्रालयका सचिव बद्रीराज ढुंगाना, मन्त्रालयका प्रशासन प्रमुख राकेश निरौलासहितको नेपालबाट आएको टोलीले भारतको उत्तर, दक्षिण, पूर्वी सिक्किम राज्यमा विभिन्न व्यवसायीहरुसँग अन्तरक्रिया गरेको थियो । भदौ १ गते शुरु गरेको भ्रमणका क्रममा दक्षिण सिक्किमको नाम्चीस्थित हाम्कीन होटलमा यहाँका पर्यटन तथा होटल व्यवसायीहरुसँग नेपाली टोलीले छलफल गरेको थियो । टोली विहीबार नेपाल फर्किएको छ ।

छलफलका क्रममा नेपाल सरकारले अघि सारेको भ्रमण वर्ष २०२० लाई सफल पार्न सिक्किमका व्यवसायीहरु लागि पर्ने प्रतिवद्घता व्यक्त गरेका थिए । होटल एसोसिएशन अफ नाम्चीका अध्यक्ष पीके राईले नेपाली पर्यटकहरुको भरमा रहेका यहाका पर्यटन व्यवसायीहरुका लागि पर्यटक पठाइदिन समेत आग्रह गर्नुभयो । उहाँले पर्यटन व्यवसाय पर्यटकमा भर पर्ने व्यवसाय भएकाले नाम्चीका पर्यटन तथा होटल व्यवसायीहरुका पीडा सुनाउनुभयो । सिक्किमेली होटल तथा ट्राभल व्यवासायीहरु सचिन शर्मा, जुनु राई, केशव ठटाल, होटल एसोसिएशन अफ नाम्चीका कानुनी सल्लाहकार एवम् पर्यटन तथा होटल व्यवसायी अधिवक्ता प्रियंका शर्मा वस्नेतलगायतले आ आफ्नो धारण राख्दैं भ्रमण वर्ष २०२० लाई सफल पार्ने प्रतिवद्घता दोहोर्याउनुभयो ।

उहाँहरुले छिमेकी भारतबाट पर्यटकहरु नेपाल जाने वाताबरण बनाईदिन समेत नेपाली अधिकारीहरुलाई आग्रह गर्नुभयो । सिक्किमेली व्यवसायीहरुले भारतीय पर्यटकहरुलाई नेपालले के गर्दा आर्कषण गर्न सकिन्छ त्यसतर्फ नेपाल लागे भ्रमण वर्षको लक्ष्य पुरा हुने भएकाले त्यसतर्फ लाग्न सुझाँव दिएका थिए ।

नेपाली टोलीकातर्फबाट बोल्दैं प्रदेश नम्बर १ को उद्योग, पर्यटन वन तथा वाताबरण मन्त्रालयका सचिव बद्रीराज ढुंगानाले नेपाल घुम्न आउने पर्यटकका लागि सरकारले जस्तोसकै सहयोग गर्ने भन्दैं नेपालमा निक्कै महत्वका धार्मिक एवम् पर्यटकीय स्थल रहेकाले निर्धक्क रुपमा भयरहित वाताबरणमा घुम्न सक्ने विश्वास दिलाउनुभयो । सचिव ढुंगानाले हरेक व्यवसायीहरु पर्यटन मैत्री बन्नु पर्नेमा जोड दिदैं हरेकले आफ्नोमा आउने पर्यटकहरुसँग गर्ने व्यवहार राम्रो, शिष्ट तथा सम्मानजनकरुपको हुनुपर्ने बताउनुभयो ।

उहाँले दुवै देशका पर्यटन व्यवसायीहरुको समस्या समान भएकाले एक आपसमा प्रतिस्पर्धी नभई सहयोगी र परिपूरक भएर व्यवसाय सञ्चालन गरे सवैलाई फाइदा पुग्ने बताउनुभयो । उहाँले जति सक्दो बढी पर्यटक नेपाल पठाइदिन समेत सिक्किमेली व्यवसायीहरुलाई आग्रह गर्नुभयो । संघका अध्यक्ष कार्कीले नेपाली पर्यटन व्यवसायीहरु आन्तरिक भन्दा बाह्य पर्यटकका भरमा चल्नु परेकाले नेपाली पर्यटन व्यवसायीहरु पर्यटन मैत्री भएको धारणा राख्नुभएको थियो । प्रदेश नम्बर १ को उद्योग, पर्यटन वन तथा वाताबरण मन्त्रालयका प्रशासन प्रमुख राकेश निरौला, संघका कोषाध्यक्ष पेमा लामा, विराटनगर एशोसिएशन ट्राभल एजेण्ट संघका अध्यक्ष फडिन्द्र अधिकारी, टोलीमा सहभागी सञ्चारकर्मीकातर्फबाट सूर्याेदय टेलिभिजनका टीकाराम नेतीलगायतले आ आफ्नो विचार राख्नुभएको थियो ।

नेपाली टोलीले सिक्किमको राजधानी पूर्वी सिक्किम गान्तोक, नर्थ सिक्किम लाचुङ युमनाङलगायतका अन्य स्थानमा समेत अन्तरक्रिया गरेको थियो । गान्तोकस्थित होटल लोनार्क रेसीडेन्सीमा भएको कार्यक्रममा गान्तोक होटल एशोसिएशनका हरि शाही ठकुरीले दुई देशबीच पर्यटन प्रवद्र्घन गर्न के कस्तो भूमिका निर्वाह गर्नुपर्ने हो दुवै देशका व्यवसायी लाग्नुपर्नेमा जोड दिनुभयो । आफ्नो देशमा कसरी बढी भन्दा बढी पर्यटक भित्रियाउन सकिन्छ, आफ्ना देशमा आउने पर्यटकहरुका लागि के कस्ता सुविधा दिन सकिन्छ सम्बन्धित निकाय त्यसतर्फ लाग्नुपर्ने उहाँको भनाई थियो । उहाँले नेपाली पर्यटन व्यवसायीलाई समेत आफ्नो देशमा पर्यटक पठाएदिन आग्रह गर्नुभयो । भ्रमण वर्ष २०२० सफल पार्नका पूर्वी सिक्किमका प्रत्येक व्यवसायी सकरात्मक रहेको उहाँको भनाई थियो । यसैगरी, उत्तरी सिक्किमस्थित लाचुङस्थित होटल सेलामा कार्यक्रम भएको थियो । सेलो भोटियाले सिक्किमेली व्यवसायीको पीडा नेपाली अधिकारी समक्ष राख्नुभयो ।

नेपालकातर्फ कार्यक्रमका प्रमुख अतिथिका रुपमा सिक्किम आइपुग्नु भएका प्रदेश नम्बर १ को उद्योग, पर्यटन वन तथा वाताबरण मन्त्रालयका सचिव बद्रीराज ढुंगाना, मन्त्रालयका प्रशासन प्रमुख राकेश निरौला, संघका अध्यक्ष निरबहादुर कार्की नेत्र, विराटनगर एशोसिएशन ट्राभल एजेण्ट संघका अध्यक्ष फडिन्द्र अधिकारीलगायतले यहाका व्यवसायीहरुलाई रुद्राक्षको माला पहिर्याएर भ्रमण वर्ष २०२० मा नेपाल घुम्नका लागि निमन्त्रणा पत्र प्रदान गर्नुभएको थियो ।

यो भ्रमणको मुख्य उद्घेश्य भारतबाट कसरी बढी भन्दा बढी पर्यटक नेपाल ल्याउन सकिन्छ त्यहाँ पुगेर छलफल गर्नु भन्ने रहेको भ्रमण फलदायी र लाभदायी भएको प्रतिक्रिया सचिव ढुंगानाको छ । नेपाली टोलीलाई यहाका पर्यटन व्यवसायीहरुले सिक्किमका धार्मिक एवम् पर्यटकीय स्थानको स्थलगत अवलोकन समेत गराएका थिए ।

टोलीमा संघका अध्यक्षसहित महासचिव पृथुराज ‐प्रितम) गौतम, सचिव टीकाप्रसाद खरेल, कोषाध्यक्ष पेमा तामाङ, सदस्य हस्त तामाङ, संघका दमक नगर अध्यक्ष केदार वस्नेत, भद्रपुर नगर सचिव निर्मलकुमार राजवंशी, पर्यटनकर्मी विराटनगर एशोसिएशन अफ ट्राभल एजेण्ट अध्यक्ष फणिन्द्र अधिकारी, सञ्चारकर्मीहरु लक्ष्मी उप्रेती, टीकाराम नेति , राधा खनाल, उत्तम नेपालको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 222

प्रतिक्रिया (०)

सम्बन्धित खबर