Aamsanchar

सामाजिक उत्तरदायित्वसहितको उद्यमशीलता विकास गरिनुपर्छः मन्त्री विष्ट

Author Image
बुधवार, भदौ ११, २०७६

काठमाडौँ,

उत्कृष्ट १० युवा उद्यमीका नवीन उद्यमको प्रस्तुतीकरणमार्फत युवा उद्यमशीलता विकास गर्ने उद्देश्यले राजधानीमा दुईदिने बृहत् राष्ट्रिय संवादको आयोजना गरिएको छ ।

युएनडिपी नेपालको सहयोगमा राष्ट्रिय युवा परिषद् तथा राष्ट्रिय युवा सञ्जाल (आयोन)ले आज यहाँ आयोजना गरेको सो कार्यक्रममा युवा उद्यमीको नेतृत्व विकास, सिर्जनशीलता र सामाजिक उद्यमशीलतालाई प्रोत्साहन गरिने छ ।

कार्यक्रमले सिर्जनाशीलता र उद्यमशीलतामार्फत दिगो विकासका लक्ष्य प्राप्तीमा योगदान गर्न अभिप्रेरित गर्ने आयोनले जनाएको छ । संवाद कार्यक्रममा सातै प्रदेशबाट चयन भएका ३०० बढी युवा उद्यमी सहभागी भएका छन् ।

कार्यक्रममा प्रत्येक प्रदेशबाट छनोट भएर आएका १० युवा उद्यमीका समूहले आआफ्ना उद्यमका बारेमा प्रस्तुतीकरण दिनेछन् । कार्यक्रममार्फत सबै क्षेत्रका युवालाई नेपालमा सामाजिक उद्यमको अवस्था बुझ्न, सामाजिक उद्यमशीलताका लागि आवश्यक जानकारी प्राप्त गर्न र आफ्नो व्यवसायलाई अझै मजबुत र सामाजिक परिवेश सुहाउँदो बनाउन साझा मञ्च प्रदान गर्ने विश्वास लिइएको छ ।

संवाद कार्यक्रमलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सामाजिक उत्तरदायित्वसहितको उद्यमशीलता विकास गर्नुपर्नेमा जोड दिनुभयो । मुलुकको सर्वाङ्गीण विकास र सामाजिक कार्यमा युवा परिचालन हुनुपर्ने उल्लेख गर्दै उहाँले युवा सशक्तीकरण भएमात्र मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन टेवा पुग्ने बताउनुभयो ।

“कृषि, निर्माण, उद्योग, व्यवसाय र उद्यमी क्षेत्रमा युवाको आवश्यकता छ”, विकासमा युवाको सहभागिता विश्वासिलो हुनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो । वर्तमान सरकारले युवा उद्यमशीलता विकास गर्न विभिन्न कार्यक्रम कार्यान्वयनमा ल्याएको स्पष्ट पार्र्दै उहाँले सामाजिक, आर्थिक र सांस्कृतिक पाटोसँग युवालाई जोड्नुपर्ने बताउनुभयो ।उहाँले व्यक्ति र कम्पनीलाई मात्र नभई रोजगारी सिर्जना हुने गरी उद्यमशीलता बढाउन आवश्यक भएको बताउनुभयो ।

“उद्यमशीलता सामाजको उत्थान हुनेगरी हुनुपर्छ”, उहाँले भन्नुभयो, “उद्यमशीलताले समाज बदल्नुपर्छ ।”आयोन ४४ जिल्लाका ९२ युवा संस्थाका छाता सङ्गठन हो । सन् २००५ मा स्थापना भएको यस संस्थाले युवाको नीति निर्माणमा सहभागिता, युवा पैरवी, क्षमता अभिवृद्धि तथा युवासँग सम्बन्धित अनुसन्धानलगायत कार्य सञ्चालन गर्दै आएको छ ।

Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर