Aamsanchar

संसदीय मोर्चा परिचालनमा नेकपा

Author Image
बिहिवार, भदौ १२, २०७६

नेकपा अध्यक्ष प्रचण्डले बुधबार नेताहरुलाई खुमलटार बोलाएर संसदीय कामकारबाहीबारे जानकारी लिएका छन् । उनले प्रस्तावित उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेलसँग संसदका गतिबिधिबारे छलफल गरेका छन् ।

संसदीय दलका कार्यवाहक नेता सुवासचन्द्र नेम्वाङ र प्रमुख सचेतक देव गुरुङसँग भने विवादमा परेका विधेयकबारे छलफल भएको प्रचण्ड निकट स्रोतले जनाएको छ ।

संसदमा विचाराधीन रहेका नागरिकता, भूमि व्यवस्थालगायतका विधेयक अहिले विवादमा छन् । मिडिया काउन्सिल र मानवअधिकार आयोगसम्बन्धी विधेयकबारे पनि पार्टी अध्यक्षसहितका नेताहरुसँग दलको तर्फबाट छलफल भएको नेम्वाङले बताए ।

कतिपय विधेयक संशोधन गर्नुपर्ने देखिएकाले नेकपाकै तर्फबाट संशोधन हालेर सुधारसहित पारित गरिने नेताहरु बताउँछन् । यसका लागि अध्यक्ष प्रचण्डसँग छलफलपछि संसदीय दलका कार्यवाहक नेता नेम्वाङले प्रतिनिधिसभाका सभामुखसँग गर्नेछन् । नेम्वाङले बुधबारै कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलसहित बिधेयकसँग सम्बन्धित मन्त्रीहरुसँग पनि छलफल गरेका थिए ।

एकसाथ पहल

अध्यक्ष प्रचण्डले हालै मात्र राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि लामो छलफल गरेका थिए । प्रधानमन्त्री सिंगापुर गएपछि शीतल निवास पुगेका उनले देशको पछिल्लो अवस्थाबारे राष्ट्रपतिसँग छलफल गरेको उनी निकट नेताहरुले बताए ।

पार्टी अध्यक्ष ओलीको अनुपस्थितिमा प्रचण्डले पार्टी, सरकार र संसदीय मोर्चामा पहल लिनु स्वभाविक भएको नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताए । बिभिन्न असन्तुष्टिहरुमा खेलेर सरकार र पार्टी विरोधी शक्तिहरु मोर्चाबन्दी गर्न थालेकाले प्रचण्डलाई पहल लिन आफूहरुले पनि आग्रह गरेको उनले बताए ।

गोप्य समझदारीको खुला अभ्यास ?

पछिल्लो पटक अध्यक्षद्वय ओली र प्रचण्डबीच दोस्रो गोप्य समझदारी भएको नेकपा नेताहरुको आशंका छ ।

पहिलो गोप्य समझदारी थियो–सरकारको नेतृत्व आधाआधा कार्यकाल गर्ने । त्यो लिखित समझदारी सार्वजनिक भएपछि केही समय नेकपामा ठूलै बहस भयो । यही विषयलाई दिएर ओली र प्रचण्डबीच बेलाबेला टकराव पनि देखियो ।

पछिल्लो पटक पार्टी्भित्रको गतिरोध तोड्ने क्रममा बामदेवलाई उपाध्यक्ष बनाउनदेखि माधवकुमार नेपालको बरियता खोस्नेसम्मका निर्णयमा ओलीले प्रचण्डको साथ लिएका थिए । पार्टी सञ्चालन गर्ने ‘कार्यकारी अधिकार’ दिने समझदारीपछि प्रचण्डले ओलीले साथ दिएको उनी निकटवर्ती नेताहरु बताउँछन् । प्रचण्डको पछिल्लो पहलकदमीले पनि त्यसको संकेत गरेको उनीहरु बताउँछन् ।

प्रचण्डको अध्यक्षतामा बसेको नेकपा सचिवालय बैठक ।
नेताहरुकाअनुसार माधव नेपाल नभड्किउन् भन्नेमा पनि उनी सचेत छ र पटक पटक नेपालसँग भेटघाट गरिरहेका छन् । ओली पक्षका नेताहरुसँग पनि सघन संवाद चलाएर पार्टीमा सबैको नेता बन्नसक्छु भन्ने सन्देश दिन खोजेका छन् ।

यद्यपि एक अर्कालाई खेलाएर आफू केन्द्रमा रहने उनको विगत रहेको भन्दै नेताहरुले शंकाको नजरले हेरेका छन् । साथै प्रधानमन्त्री ओली सिंगापुरबाट फर्किएपछि पछिल्लो समझदारीको नखुलेको पाटो भने खुल्नु अनुमान गरेका छन् ।

प्रचण्ड निकट नेताहरुले ओली सिंगापुरबाट फर्किएपछि पार्टी सञ्चालनमा कार्यकारी भूमिका पाउने दाबी गरिरहेका छन् । ओली निकट नेताहरु भने प्रचण्ड अहिले पनि कार्यकारी भूमिकामै रहेको टिप्पणी गर्छन् । स्थायी कमिटी सदस्य शंकर पोखरेल भन्छन्, ‘ओली र प्रचण्ड दुवै कार्यकारी अध्यक्ष हुन् । स्वभाविक रुपमा एकजना अध्यक्ष प्रधानमन्त्री भएकाले उहाँको भूमिका सरकार सञ्चालनमा बढी हुन्छ भने अर्को अध्यक्षको भूमिका पार्टी सञ्चालनमा बढी हुन्छ । तर नेकपामा अर्को महाधिवेशनसम्म दुवै अध्यक्ष रहन्छन् ।’

Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर