काठमाडौँ,
भारतले नेपाललाई पराजित गर्दै पाँचौँ संस्करणको साफ यू–१५ (पन्ध्र वर्षमुनि) च्याम्पियनसिपको उपाधि हात पारेको छ । भारतको कोलकातास्थित कल्याणी रङ्गशालामा आज भएको फाइनल खेलमा भारतले नेपाललाई ७–० गोलअन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । यू–१५ मा नेपालले अहिलेसम्म च्याम्पियन हुनसकेको छैन । त्यस्तै यससँगै तेस्रोपटक फाइनल पुगेको नेपाललाई उपाधि जित्न फेरि पनि भारत नै तगारो बन्यो ।
यसअघि सन् २०१३ र २०१७ मा फाइनल खेल्दा नेपाल दुवैपटक भारतसँग नै पराजित भएको थियो । त्यतिबेला उक्त च्याम्पियनसिप यू–१६ का नाममा हुने गर्दथ्यो । नेपालले खेलको पहिलो हाफमा तीन गोल खायो भने खेलको दोस्रो हाफमा चार गोल खायो । भारतको जितमा महेसन सिंहले खेलको १५औँ मिनेटमा गोल गर्दै पहिलो अग्रता दिलाए । त्यस्तै खेलको ४१औँ मिनेटमा मन्दिप माकेसले गोल गर्दै भारतको अग्रता दोब्बर बनाए भने खेलको पहिलो हाफको अत्तिरिक्त समयमा शिवजित सिंहले गोल गर्दै भारतलाई ३–० को अग्रता दिलाए ।
त्यस्तै खेलको टैसन सिंहले खेलको ५२औँ मिनेटमा गोल गरे भने हिमांशु जनगराले खेलको ६५औँ मिनेटमा गोल गरे । भारतका अर्का खेलाडी सिदार्थ नोङमेइकपामले दुई गोल थपे । उनले खेलको ७६ र ८०औँ मिनेटमा दुई गोल गरे । राउण्ड रोबिन लिगको आधारमा भएको उक्त प्रतियोगितामा नेपाल अङ्क तालिकाको दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो भने भारत शीर्षस्थानमा रहेर फाइनल पुगेको हो ।
प्रतियोगिताको पहिलो खेलमा पनि नेपाललाई भारतले ५–० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै राउन्ड रोविन लिगको अन्तिम खेलमा नेपालले भूटानलाई ६–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
च्याम्पियनसिपको पहिलो खेलमा भारतसँग पराजित भएको नेपालले त्यसपछिका तीन खेलमा लगातार जित निकालेको थियो । नेपालले श्रीलङ्का, बङ्गलादेश र भूटानलाई पराजित गरेको थियो । भारतले भने अपराजित रहँदै उपाधिमाथि कब्जा जमायो ।प्रतियोगितामा आयोजक भारतसहित नेपाल, श्रीलङ्का, बङ्गलादेश र भूटानको सहभागिता रहेको थियो ।