Aamsanchar

इजरायलमा दुई सन्तानसहित नेपाली महिला

Author Image
मङ्गलवार, भदौ १७, २०७६


इजरायलमा श्रमिकका रूपमा कार्यरत एक नेपाली महिलालाई तिनका दुई सन्तानसहित त्यहाँको प्रहरीले पक्राउ गरेको छ । अध्यागमनबाट खटिएका प्रहरीले इजरायलको हर्जलियास्थित निवासबाट बिहीबार बिहान बच्चासहित ती महिलालाई नियन्त्रणमा लिएको हो ।इजरायली सञ्चार माध्यमहरूले ईश्वरा उप्रेती नाम गरेकी महिला पक्राउ परेको जनाएका छन् । उनीसँगै उनका नौ वर्षीय छोरा मिसेल र ५ वर्षीया छोरी सिरालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । ईश्वराको नेपालको स्थायी ठेगानाबारे भने समाचारमा खुलाइएको छैन ।प्रहरी नियन्त्रणमा रहेकी ईश्वरा ज्येष्ठ नागरिकको सुसारेका रूपमा इजरायल पुगेकी थिइन् । इजरायलमा रहेका कामदारले आफ्नो अनुमतिपत्र नवीकरण गर्नुपर्ने प्रावधान भए पनि उनले त्यसो नगरिएपछि नियन्त्रणमा लिइएको त्यहाँको हारेज डटकमले उल्लेख गरेको छ । यद्यपि, उनी कति समयदेखि अवैध रूपमा त्यहाँ रहँदै आएकी थिइन् भन्ने खुलाइएको छैन । जन्म दिएका एक छोरा र छोरीका बावुबारे पनि अस्पष्ट छ ।

प्रहरी नियन्त्रणमा रहेका आमासहित दुवै बच्चालाई अहिले गिभन कारागारमा राखेर न्यायिक प्रक्रिया थालिएको छ । सोमबार मात्रै त्यहाँको अभिरक्षा अदालतले प्रक्रिया पूरा नभएसम्म तीनैजना हिरासतमा रहने फैसला सुनाएको छ ।पक्राउ परेकी नेपाली महिलाबाट जन्मिएका मिसेल त्यहाँको विद्यालयमा अध्ययनरत छात्र हुन् । समाचारमा जनाइएअनुसार उनी आइतबारबाट कक्षा ४ को पढाइ सुरु गर्ने तयारीमा थिए ।आफ्ना साथीहरूबाट छुटाएर हिरासतमा राखिनुको कारणबारे उनले केही बुझेका छैनन् । हिरासतमा पु¥याइएदेखि नै उनी निरन्तर रोइरहेको समाचारमा उल्लेख छ ।

महिलाको पक्षमा कुनै आवाज नउठे पनि बालकलाई नियमविपरीत नियन्त्रणमा लिइएकाले रिहाइ गर्न माग उठेको छ । इजरायलको आप्रवासीसम्बन्धी कानूनमा कक्षा चलिरहेका बेला आप्रवासी कामदारका सन्ततिलाई डिपोर्ट गर्न नपाइने नियममा टेकेर सरोकारवालाहरूले बालक पक्राउको विरोध गरेका हुन् ।मानवियताका आधारमा उनीहरूलाई इजरायलमै रहन दिनुपर्ने माग राख्दै ती बालकका तर्फबाट ओर्टल सामी नाम गरेका एक व्यक्तिले प्रक्रिया थालेका छन् । उनले बालकको न्यायका लागि त्यहाँको आन्तरिक मामिला मन्त्रालयमा निवेदन दर्ता गराएको हारेज डटकमलाई बताएका छन् ।इजरायलले पछिल्लो समय गैरआप्रवासी कामदार फर्काउने अभियान चलाएको छ । यसअन्तर्गत विनाअनुमति कार्यरतहरुलाई स्वदेश फर्काउन थालिएको छ । अभियान सञ्चालनपछि नेपाली फर्काइएको भने यो पहिलो घटना हो ।लामो समयदेखि नेपालीहरू इजरायलमा श्रमका लागि जाने गरे पनि कतिको संख्यामा छन् भन्ने यकिन तथ्यांक छैन ।

Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर