बैतडी,

बैतडी सदरमुकाम क्षेत्रमा विगत केही वर्षदेखि बाँदरले आतङ्क फैलाउँदै आएको छ ।

खेतबारीमा काम गर्ने महिला तथा विद्यालय जाने बालबालिकालाई आक्रमण गरी घाइते बनाउने बनाउनाका साथै खेतबारीमा लगाएको अन्नबाली, फलफूल र घरभित्र पकाएर राखेको खानासमेत बाँदरले खाने गरेको छ ।

दशरथचन्द नगरपालिकाले वडा नं ४, ५, ६, ७ र ८ मा बाँदरले विगत केही वर्षदेखि आतङ्क मच्चाएकाले त्यसको व्यवस्थापनका लागि रु १० लाख छुट्याएको छ । बाँदरलगायत अन्य जङ्गली जनावर व्यवस्थापन गर्न उक्त रकम विनियोजन गरिएको वडा नं ५ का अध्यक्ष नारायणप्रसाद भट्टले जानकारी दिनुभयो ।

बाटोमा हिँड्दासमेत महिला तथा बालबालिकालाई बाँदरले आक्रमण गर्दै आएको र गत साउनमा तीन जनालाई बाँदरले टोकेकाले उनीहरूलाई रेविजविरुद्धको सुईसमेत दिइएको उहाँले बताउनुभयो ।
जङ्गली जनावर व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय र नगरपालिकाले केही दिनभित्रै ठोस निर्णय गर्ने जनाइएको छ । बाँदर नियन्त्रणका लागि उक्त नगरपालिकाले विगतका वर्षमा पनि बजेट विनियोजन गर्दै आएको थियो ।

