
लाखौं नेपालीहरु रोजगारीका लागि मात्रै नभई अन्य प्रयोजनले पनि भारतमा बस्दै आएका छन् । भारतमा बस्ने नेपाली र नेपाली भाषीहरु अब अप्ठेरोमा पर्न सक्ने सम्भावना देखिएको छ । भारतले अब आफ्ना देशमा रहेको आप्रवासीहरुलाई देशबाट निकाल्ने घोषणा गरेको छ । यस अघि आसाममा लागू गरिएको नेसनल रजिस्ट्रर अफ सिटिजन्स एनआरसी अब मुलुकभर लागू गर्ने घोषणा नरेन्द्र मोदी नेतृत्वको सरकारको थियो । भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले यस्तो घोषणा गरेका हुन् । उनले अब छिट्टै यो नियम लागू गरिने जानकारी दिएका छन् । उनले सबै अवैध आप्रवासीहरुलाई देशबाट बाहिर निकालिने चेतावनी दिइसकेका छन् ।

भारतीय दैनिक पत्रिका हिन्दूस्तानले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले यस्तो चेतावनी दिएका हुन् । उनले भने, ‘तपाईंहरु ईंग्ल्याण्ड, नेदरल्यान्ड्स, अमेरिका गएर बस्नुस् । तपाईंलाई कसैले घुस्न दिने छैन । भारतमा आएर चाहिँ कोही कसरी बस्न सक्छ रु यसरी देश चल्दैन ।’ मन्त्रीले अब भारतमा बस्न भारतीय नागरिक नै हुनुपर्ने जानकारी दिएका छन् । भारतीय बाहेक अरु गैरकानुनी रुपमा बस्न नमिल्ने उनको भनाई रहेको छ । चुनावी घोषणापत्रमा नै भाजपाले सो कुरा उल्लेख गरेको भएर देशभर एनआरसी लागू गर्ने प्रतिबद्धता जनाएको साहले स्मरण गराए । यसका अलावा अन्य कानूनी प्रक्रियाहरुमार्फत कारबाही गर्ने उनको भनाइ छ । आसाममा मात्रै झण्डै १९ लाख विदेशी नागरिक भएको बताएको छ ।

