Aamsanchar

ठेकदारलाई कुलमानको सुझाव : समयमा काम सके फूलमाला, नसके कारबाही

Author Image
आइतवार, असोज ५, २०७६

प्रतिकात्मक फायल फोटो : गुगलबाट

५ असोज, बुटवल । रुपन्देही र नवलपरासीका औद्योगिक क्षेत्रमा प्रशारण लाइन र सवस्टेशन निर्माणमा ढिलाइ भएको गुनासो आएपछि विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजना निर्माणस्थलको निरीक्षण गरेका छन् ।

रुपन्देही, नवलपरासी पश्चिम र नवलपरासी पूर्वमा सञ्चालित र आगामी दिनमा खुल्ने उद्योगमा पर्याप्त विद्युत् आपूर्ति गर्न प्रसारण लाइन र सबस्टेसन को निर्माण भइरहेको छ । तर ती आयोजना निर्माणको गति सुस्त भएको गुनासो आएपछि घिसिङ शुक्रबार र शनिबार त्यस क्षेत्रमा पुगे ।

कार्यकारी निर्देशक घिसिङले आयोजना व्यवस्थापन, ठेकेदारसँग निर्माणमा रहेको जग्गा अधिग्रहण, वन क्षेत्रको जग्गा प्रयोगलगायतमा देखिएका समस्या बारेमा जानकारी लिएका छन् । उनले बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण आगामी माघभित्र ९जनवरी २०२०० र मैनहिया सबस्टेसनको काम पुस ९डिसेम्बर २०१९० भित्र सक्न निर्देशन दिएका छन् ।

‘निजी जग्गा अधिग्रहण, वन क्षेत्रको जग्गा प्रयोगमा रहेका समस्या समाधान गरी हामी साइट उपलब्ध गराउँछौं, अत्यन्तै महत्वका आयोजनाहरुको निर्माण जतिसक्दो छिट्टो सम्पन्न गर्न जनशक्ति थप्नुहोस्, समयमै काम सक्नुभयो भने फूलमाला लगाएर पुरस्कृत गर्छौ, ढिलाइ गरेमा ठेक्का सम्झौतामा भएको व्यवस्थाअनुसार कारबाही प्रक्रिया अगाडि बढाउँछौं’,उनले निर्माण कम्पनीहरुलाई निर्देशन दिंदै भने ।

हालको प्रसारण तथा वितरण प्रणालीको क्षमतालाई नधान्ने भएकाले यस क्षेत्रका उद्योगलाई माग अनुसारको विद्युत् दिन नसकेको घिसिङले बताए । उनले निर्माण कम्पनीलाई भने ‘तपाईहरुले छिट्टो काम गरिदिनुभयो भने विद्युत माग दुई सय मेगावाटभन्दा बढी बढ्छ, यस क्षेत्रको विद्युत् चुहावट करिब ५ प्रतिशत घट्छ ।’

प्रसारण लाइन र सबस्टेसनको निर्माण कम्पनीहरुले तोकिएकै समयमा काम सक्ने प्रतिबद्धता जनाएका छन् । कार्यकारी निर्देशक घिसिङले बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइन आयोजनाको बर्दघाट नगरपालिका क्षेत्रमा जग्गा अधिग्रहणमा रहेको समस्या समाधान गर्न त्यहाँका मेयर धीरज शर्मासँग पनि छलफल गरेका छन् । मुलुकको औद्योगिक विकाससँग जोडिएका यी प्रसारण लाइनको निर्माणमा सहयोग गरिदिन उनले आग्रह गरेका थिए ।

बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन र मैनहिया १३२र३३र११ केभी सबस्टेसन आयोजनाको समग्र भौतिक प्रगति करिब ४५ प्रतिशत छ । रुपन्देहीको योगीकुटी सबस्टेसनबाट सुरु भई मैनहिया पुग्ने प्रसारण लाइनको लम्बाइ १८ किलोमिटर छ । दुई किलोमिटर भूमिगतसहित प्रसारण लाइन आयोजनाले ५७ टावर निर्माण गर्नुपर्ने छ ।

रुपन्देहीको भैरहवा क्षेत्रमा रहेका उद्योग र सर्वसाधारणलाई गुणस्तरीय विद्युत नियमित आपूर्ति गर्न, चुहावट घटाउन, प्रसारण क्षमता सुदृढ बनाउन यो आयोजनाको निर्माण हुन लागेको प्राधिकरणले जनाएको छ ।

यसैगरी, चिनियाँ लगानीमा खुलेको होङ्शी सिमेन्टलाई विद्युत आपूर्ति गर्न निर्माण भइरहेको बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण भौतिक प्रगति करिब ४५ प्रतिशत छ । २० किलोमिटर लामो आयोजनाले ६७ टावर निर्माण गर्नुपर्ने छ । त्यसमध्ये ४० टावरको जग हालिएको छ । बर्दघाट सबस्टेसनको स्तरोन्नती अन्तिम चरणमा पुगेको छ ।

प्रसारण लाइनको टावर रहने स्थानको निजी जग्गा प्राप्ति, वन क्षेत्रको जग्गा प्रयोगमा रहेको अधिकांश समस्याहरु समाधान भइसकेको र निर्माण सामग्री आयोजनास्थलमा आइसकेकाले दुवै आयोजनाका काम बढीमा ६ महिना सकिने छ ।

सिमन्ट उद्योगमा विद्युत् पु¥याउने सरकारी घोषणा अनुसार यो प्रशारण लाइन निर्माण भएको हो । लाइन नपुग्दा होङशी सिमेन्टले अहिले डिजेलमार्फत विद्युत् उत्पादन गरी प्रयोग गरिरहेको छ । उद्योगको क्षमता विस्तार गर्न लागेकाले होङ्शीलाई मात्रै करिब ८० मेगावाट विद्युत आवश्यक पर्ने बताइएको छ ।

यसैगरी, चितवनको भरतपुर देखि नवलपरासीको बर्दघाटसम्मको २२० केभी प्रसारण लाइनको पनि निर्माण धमाधम भइरहेको छ । २४६ टावरमध्ये १८० वटाको जग हालिएको छ भने १५१ खडा गरिएको छ ।

Views: 114

प्रतिक्रिया (०)