बिर्तामोड। अर्जुनधारा नगरपालिका वडा नम्बर ४ स्थित नवनिर्मित स्वास्थ्य चौकीको दुई तले भवनको आज आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । एक वर्षअघि निर्माण सम्पन्न भएको भवनको एक वर्षपछि उद्घाटन गरिएको हो ।स्वास्थ्य चौकीको भवन निर्माणका लागि बिर्तामोड १ जगत बस्तीका बस्नेत परिवारले अग्रज शिवमाया र लक्ष्मण बस्नेतको स्मृतिमा सात कठ्ठा जमिन निःशूल्क उपलब्ध गराएपछि स्वास्थ्य चौकी निर्माणका लागि पहल अघि बढेको थियो ।
जग्गा प्राप्तिका लागि स्थानीय समाजसेवी केदार पराजुलीले पहल गरेका थिए । जग्गा दाताले २०७३ वैशाख ४ गते स्वास्थ्य चौकीका लागि जग्गा उपलब्ध गराएका थिए ।सोही जग्गामा संविधानसभाका सदस्य प्रेमबहादुर गिरीको पहलबाट सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामले २ करोड ३८ लाख रुपैयाँमा २०७४ असोजमा ठेक्का प्रक्रिया सुरु गरेको थियो । सोही दुई तले भवनको आइतबार अर्का संविधानसभा सदस्य सुधिरकुमार सिवाकोटी, अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार राना र जग्गादाताका सदस्यले संयुक्तरुपमा भवनको उद्घाटन गरेका हुन् ।
मेयर रानाको अध्यक्षता तथा संविधानसभा सदस्य सिवाकोटीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जग्गादाता परिवारलाई नगरपालिकाको तर्फबाट सम्मानपत्र प्रदान गरिएको थियो । उक्त सम्मानपत्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले वाचन गरेका थिए भने मेयर राना, संविधानसभा सदस्यद्वय सिवाकोटी र गिरीले दाता परिवारलाई हस्तान्तरण गरेका थिए ।स्वास्थ्य चौकी निर्माण भएपछि बिरिङ र टाङटिङको चेपमा परेका वडा नम्बर ४ का बासिन्दाले आफ्नै गाउँघरमा स्वास्थ्य सेवा पाउने विश्वास गरेका छन् ।
भरपर्दो र स्तरीय सेवा पाउने भएपछि स्थानीय पनि खुसी देखिएका छन् । स्वास्थ्य चौकीमा ८ जना कर्मचारी कार्यरत छन् ।स्वास्थ्य कर्मचारी तथा सिनियर अहेव दुर्गा भट्टराईको सञ्चालन रहेको कार्यक्रममा ४ नम्बर वडा अध्यक्ष दुर्गाप्रसाद दाहालले औचित्यमाथि प्रकाश पार्दै स्वागत गरेका थिए । कार्यक्रममा संविधानसभा सदस्यद्वय सिवाकोटी, गिरी र जग्गा दाताको तर्फबाट नरबहादुर बस्नेतले आफ्नो भनाइ राखेका थिए ।यस अघि अर्जुनधारा(७ बाट सेवा प्रवाह गर्दै आएको उक्त स्वास्थ्य चौकीबाट स्वास्थ्य चौकीले प्रदान गर्ने सबै प्रकारका सेवाहरु उपलब्ध हुने प्रमुख एचए अनुषा कार्कीले बताइन् ।