बेझाड,

कालीगण्डकीको तटमा रहेको पाल्पा रामपुर नगरपालिका–३ को पर्यटकीय तथा ऐतिहासिक घट्टार क्षेत्र ओझेलमा परेको छ । प्राकृतिक सुन्दरताले पर्यटकलाई लोभ्याउने घट्टार क्षेत्र रमणीय र मनमोहक छ ।

तर भौतिक पूर्वाधार विकासको कमी तथा प्रचारप्रसार नहुँदा यो क्षेत्र ओझेलमा परेको हो । समथर मैदानमा रहेको घट्टार क्षेत्रलाई उत्तर–पश्चिम कालीगण्डकी र पूर्व–दक्षिण भाग निस्दीखोलाले घेरेको छ ।

करीब एक हजार २०० रोपनी क्षेत्रफलमा फैलिएको यो क्षेत्र बाइसे र चौबिसे राज्यका बेला राजाले राजकाज गरेको भन्ने इतिहाससँग जोडिएको छ । बाइसे र चौबिसे राजाको पालामा लडाइ हँुदा घटना घटेको हुनाले यस ठाउँको नाम घट्टार रहन गएको ६५ वर्षीय ज्येष्ठ नागरिक ताराप्रसाद बोटे बताउनुभयो । “बाइसे र चौबिसे राज्यका पालामा यही आएर राजकाज गर्ने र आफ्ना विपक्षीसँग लडाइ लडेकाले यो क्षेत्रलाई घट्टार क्षेत्रका नामले चिनिन्छ, गोलीहरु, पुराना सिक्का लगायतका विभिन्न वस्तुहरु माटो उत्खनन्का बेला यहाँ भेटिने गर्छ” उहाँले भन्नुभयो ।

पहिला पहिला यहाँ थाना नै निर्माण गरेर लामो समयसम्म राजकाज गरेको उहाँको भनाइ छ । यो क्षेत्रलाई आङ्गिक क्याम्पस स्थापना गर्ने विषयमा पनि विषय विज्ञसहितको टोलीले अध्ययन अनुसन्धानसमेत गरिसकेको रामपुर नगरपालिकाका कार्यपालिका सदस्य देवबहादुर दर्जीले बताउनुभयो ।
“भौगोलिक भूबनोटले मिलेको यो क्षेत्र आङ्गिक क्याम्पसका लागि उपयुक्त रहेको छ, यस बारेमा नगरपालिकाले चासो दिइरहेको छ, स्थानीय, विषय विषेशज्ञ सरोकारवालाको समझदारीमा आङ्गिक क्याम्पस चलाउन सकिन्छ”, उहाँले भन्नुभयो । अहिले घट्टार क्षेत्रको रेखदेख र संरक्षणको जिम्मा स्थानीय मिलिजुली आमा समूहलाई दिइएको छ । समूहले रेखदेख गर्ने जिम्मेवारी पाएपछि पर्यटकीय ऐतिहासिक क्षेत्र घट्टारमा वनभोज जानेको चहलपहल बढेसँगै आमा समूहलाई आम्दानी गर्ने अवसर मिलेको पनि छ ।
यहाँ खानेपानी, शौचालय, बिजुलीको सुविधा उपलब्ध गराएपछि वनभोज आउनेको सङ्ख्या ह्वात्तै बढेको छ । सिजनमा दैनिक तीन चार जनाको समूहमा वनभोज आउने गरेको आमा समूहका अध्यक्ष डोलकुमारी दर्जीले बताउनुभयो । विशेष गरी नयाँ वर्ष, चाडपर्व, हिउँदयाममा यहाँ वनभोज आउनेको चाप बढ्दो पाइन्छ । घट्टार क्षेत्रमा वनभोज आउनेको सङ्ख्या बढ्दै जाँदा आमा समूहलाई आम्दानी गर्ने माध्यम बनेको समूहका सदस्य जुना बोटेले बताउनुभयो । “वनभोजका निम्ति विभिन्न स्थानबाट संघ संस्था, व्यक्तिहरु आउन थालेपछि स्थानीय महिलालाई काम गर्ने अवसर मिलेको छ, वनभोज खाने ठाउँ, भाडा सरसफाइ गर्ने काम पाएपछि दुई चार पैसा कमाउने अवसर मिलेको छ”, उहाँले भन्नुभयो ।
स्थानीय आमा समूहले वातावरणलाई हराभरा बनाउन तथा आम्दानी लिने उद्देश्यले तीन वर्षअघि देखि त्यहाँ विभिन्न जातका घाँसहरु लगाएको छ । यसले वातावरण हराभरा र आम्दानी गर्न राम्रो अवसर दिएको छ । पुरानो इतिहास बोकेको यो क्षेत्र मिलिजुली आमा समूहले रेखदेख गर्न थालेपछि मात्र वनभोज र घुम्न जानेको विस्तारै चहलपहल बढ्दो छ । कालीगण्डकीको किनारमा अवस्थित घट्टार क्षेत्र पर्यटकीयस्थलको सम्भावना बोकेको छ ।

