विराटनगर,

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले सामुदायिक भवनले समाजका हरेक क्रियाकलाप गर्न मद्दत हुने भन्नुभएको छ ।

गोपीकृष्ण मणिकर्णिका सामुदायिक सेवा केन्द्र ग्रामथान–२, झोराहाट मोरङको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उहाँले यस्ता भवनको अभावमा ग्रामीण जनताले कतै पनि भौँतारिनु नपर्ने कुरामा जोड दिनुभयो ।

रु एक करोड २५ लाख लागतमा निर्माण गरिएको उक्त दुईतले भवनका लागि सामाजिक विकास मन्त्रालयले रु ६० लाख, अमनलाल मोदीले संसद् विकास कोषबाट रु १० लाख, ग्रामथान गाउँपालिकाले रु पाँच लाख, महायज्ञबाट रु सात लाख र अन्य रकम सहयोग तथा चन्दाबाट सङ्कलन गरिएको बताइएको छ ।

भवन निर्माण गर्न स्थानीय समाजसेवी कृष्णप्रसाद खतिवडाले रु एक करोड २० लाख मूल्यबराबरको चारकठ्ठा एक धुर जग्गा निःशुल्क उपलब्ध गराउनुभएको छ ।
भवनबाट साहित्य र संस्कृतिको विकास गर्न, समाजमा हुने विवाह, ब्रतबन्ध र अन्य धेरै रचनात्मक काम गर्न सहयोग पुग्ने साहित्यकार गण्डकी पुत्रले जानकारी दिनुभयो ।

