

काठमाडौं, असोज १२ । सोमबारबाट मौसममा क्रमिक रुपमा सुधार आउने मौसमविदले पूर्वानुमान गरेका छन् । दशैंमा ठूलो पानी पर्छ कि भनेर आत्तिहाल्नु पर्ने अवस्था नरहेको मौसमविदको भनाइ छ ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद मञ्जु बासीले भनिन्, ‘अहिले जुन सिस्टमले पानी परिरहेको छ, यो भोलि (सोमबार) बाट क्रमिक रुपमा सुधार हुँदै जाने देखिन्छ । आइतबारको तुलनामा सोमबार मौसममा बढी सुधार देखिने उनको भनाइ छ ।

मौसम पूर्वानुमान महाशाखाले सामान्यता तीन दिनको मात्र पूर्वानुमान गर्दछ । त्यसैले खासगरी फूलपातीदेखि दशैंको टीकासम्मको अवधिमा मौसमको अवस्था के हुन्छ भनेर अहिले नै पूर्वानुमान गर्न कठिन हुने मौसमविद बताउँछन् । यद्यपि अर्को सिस्टम तत्काल विकास हुने सम्भावना नदेखिएको मौसमविद बासीले बताइन् ।

तर, नेपालबाट मनसुन बाहिरीनसकेकाले वर्षाको सम्भावना भने कायमै रहने मौसमविद बताउँछन् । तर, अहिले भइरहेको जस्तो ठूलो वर्षा वा पूर्ण बदलीको अवस्था भने नहुने अनुमान गरिएको छ ।

