Aamsanchar

छोराले गरे वृद्धको हत्या, दुई वर्षपछि खुल्यो अनौठो रहस्य

Author Image
बुधवार, कार्तिक ६, २०७६

मोरङ।  मोरङको रंगेली नगरपालिका–९ दर्वेसाका ६४ वर्षीय पहाडचन राजवंशी गाउँ झारफुक गर्ने धामीझाँक्रीका रुपमा परिचित थिए । पारिवारिक आर्थिक अवस्था कमजोर भएका उनी छोरो लक्ष्मीप्रसाद र बुहारी चिन्ताकुमारीका साथमा बस्थे । उनै पहाडचनलाई केही गाउँलेहरु मिलेर २०६९ साल असोज १३ गते मलमुत्र खुवाउँदै विभिन्न खाले यातना दिएर गाउँ निकाला गरे । उनीमाथि बोक्सोको गम्भीर आरोप लगाइएको थियो । उनलाई गाउँलेहरुले पहाडचनले हेर्ने वित्तिकै मान्छे मरिजान्छ भन्ने अर्को संगीन आरोप पनि लगाएका थिए ।

हेर्ने वित्तिकै मान्छे मरिजाने भएकाले बोक्सो रहेको भन्दै गाउँलेहरुले उनलाई निक्कै ठूलो तनाव दिएर विस्थापित गराए । पछि स्थानीय प्रशासन र संघ संस्थाको सहयोगमा उनलाई पुनस्थापना गरिएको थियो । मलमुत्र खुवाउने र विस्थापित गराउनेमा स्थानीय हरिप्रसाद राजवंशी पनि थिए । उक्त घटनामा प्रहरीले हरिप्रसादसहित नौ जनालाई पक्राउ गरेर बोक्सी आरोपको कसूरमा मुद्दा चलायो । अभियुक्तहरु जिल्ला अदालतले मागेको प्रति व्यक्ति दुई हजार रुपैयाँ धरौटी बुझाएर छुटेका थिए ।

त्यसको पाँच वर्षपछि २०७४ साल जेठमा हरिप्रसादको मृत्यु भयो । अचानक बिरामी परेर अस्पताल ल्याइएका उनको उपचारका क्रममा मृत्यु भएको थियो । परिवारले टुनामुना गरिदिएकै कारण हरिप्रसादको मृत्यु भएको भन्दै पहाडचनलाई दुरव्यवहार पनि गरे । विभिन्न डर र त्रासका कारण अनेक दुरव्यवहार सहेरै भए पनि उनी गाउँमै बसे । बोक्सो बनेर अनेक टुनामुना गरिदिएकाले परिवारको सदस्य गुमाउनु परेको भन्दै दुरव्यवहार भइरहे पनि सहेर कहीं कतै उजुरी पनि दिएनन् ।

तर कहानी यतिमै टुँगिएन । बोक्सोको आरोप लगाएर बर्बर यातना दिएको पाँच वर्षपछि पहाडचनको हत्या नै भयो । हत्यामा संलग्न थिए बोक्सोको आरोप लगाएर गाउँ निकाला गर्ने समूहको नेत्रृत्व लिएका हरिप्रसाद राजवंशीका छोरा भरतलाल । बोक्सीको टुनामुना गरिदिएका कारण आफूले बुवा गुमाउनु परेको भन्दै उनले बन्चरो प्रहार गरेर २०७४ साल असार ११ गते बाटो ढुकेर पहाडचनको हत्या नै गरिदिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए । पहाडचन गाउँमा धामीझाँक्रीको काम गरेर फर्कदै गर्दा घटना भएको अनुसन्धानबाट खुलेको जानकारी उनले दिए । बन्चरो प्रहारबाट टाउको, छात्ती र शरीरका विभिन्न भागमा चोट लागेका उनको घटनास्थलमै मृत्यु भएको थियो ।

हत्यामा संलग्न भरतलाल त्यतिबेला १७ वर्षका थिए । अहिले १९ वर्षका भए । वृद्धको हत्या गरेर फरार बनेका भरतलाई दुई वर्ष ९२८ महिना० पछि प्रहरीले पक्राउ गरेर अनुसन्धान थाल्दा यो रहस्य बाहिर आएको हो । घटनापछि भारततिर फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक ९इन्सपेक्टर० लेखनाथ दाहाल नेत्रृत्वको टोलीले गाउँमै लुकिछिपी बसेको अवस्थामा मंगलबारराति पक्राउ गरेको हो । दाहालले पक्राउपछि गरिएको प्रारम्भिक अनुसन्धानबाट घटनाको वास्तविकता पत्ता लागेको जानकारी दिए ।

एसपी अधिकारीकाअनुसार परिवारले हरिप्रसादको मृत्यु पहाडचन बोक्सो रहेको र उसले टुनामुना गरिदिएकै कारण भएको आरोप लगाइरहेको थियो । ‘बोक्सीका कारण मान्छेको मृत्यु भएको भनेर यति गम्भीर आरोप लगाइरहँदा पनि पहाडचनका परिवार चुप लागेरै बसेका रहेछन्,’ उनले भने, ‘यता त्यही अन्धविश्वासमा परेर रिसिईवी साँध्दै मौका पर्खिएर बसेका भरतले भने आफ्नो बुवालाई टुनामुना गरेर मारेको भन्दै बन्चरो प्रहार गरी पहाडचनको हत्या गरिदिएको प्रारम्भिक अनुसन्धानबाट खुल्यो ।’

भरतले पनि बोक्सीको टुनामुना गरिदिएका कारण आफ्नो बुवाको मृत्यु भएकाले आवेसमा आएर पहाडचनको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ । हत्यापछि झाडीमा बन्चरो फ्यालेर आफू फरार भएको प्रहरीलाई उनले बताएका छन् । हत्यामा संलग्न भरतलाई पक्राउ गर्न ठूलो मेहनत गरेका रंगेलीका इन्सपेक्टर दाहाल घटना भएका बेला नेपाल प्रहरीको क्षेत्रीय अनुसन्धान समूह ९रिट० मा कार्यरत थिए । तत्कालिन अनुसन्धानबाट हत्या भरतले नै गरेको निस्कर्ष निकालिए पनि भारततिर फरार भएका कारण उनलाई पक्राउ भने गर्न प्रहरीले सकेन । तर अहिले रंगेलीको प्रहरी प्रमुख रहेका उनै इन्सपेक्टर दाहालले पुरानो फाइल खोतल्दै गम्भीर आरोप लगाएर गरिएको हत्यामा संलग्नलाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याएका हुन् । भरत विरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन बुधबार जिल्ला अदालत मोरङबाट सात दिनको म्याद थप गर्दै प्रहरीले बाँकी अनुसन्धान अघि बढाइएको जनाएको छ ।पूर्वेली खवरबाट साभार

Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर