Aamsanchar

नेपालको बिजुली किन्ने बंगलादेशको चाहना

Author Image
मङ्गलवार, कार्तिक २६, २०७६


काठमाडौं । उत्पादित बिजुली स्वदेशमा खपत गर्न नसकिने भएपछि नेपाल अन्तर्राष्ट्रिय बजारको खोजीमा छ । पहिलो सम्भाव्य बजार भारत नै हो, त्यसपछि भने बंगलादेशलाई प्राथमिकतामा राखिएको छ । र, बंगलादेश पनि नेपालबाट बिजुली आयात गर्न इच्छुक नै देखिन्छ ।

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चारदिने भ्रमणका लागि आज नेपाल आउँदैछन् । सद्भावना भ्रमण मात्र भएकाले दुई देशबीच कुनै महत्त्वपूर्ण सम्झौता हुने अपेक्षा त छैन, तर द्विपक्षीय वार्तामा विद्युत् व्यापारको विषय पक्कै उठ्ला । किनकि, यसमा नेपालको मात्रै नभएर बंगलादेशको पनि हुटहुटी रहेको छ ।

भारत र चीनपछि नेपालमा उत्पादित बिजुली बेच्न सकिने बजारका रूपमा बंगलादेशको चर्चा गत वर्षबाट मात्रै सुरु भएको थियो । अहिले सरकारीस्तरका वार्ताहरूमा नेपालबाट बिजुली लैजान बंगलादेशले निकै व्यग्रता देखाउने गरेको अधिकारीहरू बताउँछन् ।

ऊर्जा मन्त्रालयका प्रवक्ता प्रवीणराज अर्यालले बगंलादेश नेपालमा उत्पादित बिजुली किन्न तयार रहेको अनलाइनखबरसँग बताए । नेपालका जलविद्युत् परियोजनाहरूमा आफैं लगानी गरेर समेत उत्पादित बिजुली लैजान बंगलादेश उत्सुक देखिएको उनको भनाइ छ ।

‘यस विषयमा दुई देशबीच छलफलहरू भइरहेका छन्,’ अर्यालले भने ।

दुई देशबीच ऊर्जा व्यापार र ऊर्जा क्षेत्रमा लगानीसम्बन्धी समझदारी पनि भइसकेको छ । यो समझदारीको कार्यान्वयनमा जति नेपाललाई हतारो छ, त्यति नै बंगलादेशलाई पनि छ । किनभने बंगलादेशमा बिजुलीको माग उच्च छ ।

नेपालले लक्ष्यअनुसार १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गरे बंगलादेश पनि नेपाली बिजुलीको प्रमुख बजारमा बन्न सक्छ । त्यसको महत्त्वपूर्ण आधार भनेको बंगलादेशको तीव्र गतिमा विकास भइरहेको औद्योगीकरणमा आधारित अर्थतन्त्र हो ।

अब माथिल्लो तामाकोशीबाट बिजुली उत्पादन सुरु भएपछि नेपालले पनि ठूलै परिमाणमा बिजुली विदेशमा बेच्न थाल्ने नेपाल विद्युत् प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् ।

‘पहिले त हामी आफ्नै आन्तरिक खपत बढाउमै केन्द्रित हनुपर्छ । तर, नेपालमा जलविद्युतमा भइरहेको ठूलो लगानीले भारत र चीनसहित अरू क्षेत्रीय बजारसम्म हामी जानुपर्ने अवस्था आउन सक्छ,’ घिसिङ भन्छन्, ‘सार्क तथा बिमिस्टेक राष्ट्रबीच भएको ग्रिड कनेक्सनको समझदारीको आधारमा पनि नेपालको बिजुली क्षेत्रीय बजारसम्म जान सक्छ ।

Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर