
फायल फोटो गुगलबाट

झापा । नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री रामचन्द्र पौडेलले सनातन धर्म संस्कृतिले मानिसलाई अन्तरआत्माको आनन्द प्रदान गर्ने बताएका छन् ।
बुधबार झापाको बिर्तामोड नगरपालिका– २ मा आयोजित धार्मिक भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै अन्तरआत्माको ज्ञानबाट मात्रै सार्थक समृद्धिको यात्रा प्रारम्भ हुने नेता पौडेलले बताए ।

धर्म, संस्कार संस्कृति र परम्पराको संरक्षणमा विवेकाश्रमले महत्वपूर्ण योगदान पु¥याएको पौडेलको भनाई छ ।
व्यासाचार्य किशोरकुमार गौतमले हिन्दू अधिराज्य भनेर अल्मलिरहनु भन्दा नेपाली कांग्रेसले गणतन्त्रात्मक हिन्दू राष्ट्रको पक्षमा आफूलाई खरो रुपमा प्रस्तुत गरेर सनातनको रक्षामा लाग्नु पर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा, पार्टी प्रचार विभाग प्रमुख कृष्ण हुँमागाई , महासमिति सदस्यहरु सीता पौडेल, अनिलकृष्ण प्रसाई , प्रदेश ख का अध्यक्ष धर्म लक्सम्वा, लगायतले सनातन धर्मको रक्षामा सबै लाग्नु पर्ने सुझाव राखे ।

त्यसैगरी नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले बुधबार दमक– ६ र ७ को संगमस्थलमा केही महिना अघि अनावरण गरिएको कविशिरोमणि लेखनाथ पौड्यालको शालिकमा फूलमाला अर्पण गरेका थिए । दमक ७ मा निर्माणाधिन पौड्याल वंशोद्धार केन्द्रीय समितिको भवन समेत निरीक्षण गरे । सो क्रममा नेता पौडेलले हरेक जाति वंशको तथ्याङक संकलन अनुसन्धानले इतिहासको खोजी र संरक्षण गर्न महत्वपूर्ण सहयोग पुरयाउने विचार व्यक्त गरे ।

नेता पौडेललाई दमक प्रवेशको क्रममा मावा पूलमा नेपाली कांग्रेसका सभापति उद्धव थापा, झापा क्षेत्र नं ५ का सभापति ढुण्डीराज भण्डारीसहित पार्टी नेता कार्यकर्ताहरुले स्वागत गरेका थिए ।
उनलाई पौडेल वंश महासंघका केन्द्रिय अध्यक्ष लोकनाथ पौडेल, पौड्याल वंशोद्धार केन्द्रिय समितिका महासचिव युवराज पौडेल, पौड्याल वंशोद्धार केन्द्रिय समितिका पूर्व अध्यक्ष भिम पौडेल लगायतले स्वागत गर्दै निर्माणाधिन सो भवनका बारेमा जानकारी गराएका थिए ।

