Aamsanchar

इटहरी मा सानो बाटो बनाएको भन्दै विरोध

Author Image
बिहिवार, कार्तिक २८, २०७६


इटहरी रानी–विराटनगर–इटहरी–धरान सडक अन्तर्गत लामो समयदेखि विवादका कारण रोकिएको इटहरीको मुख्यचोक क्षेत्रमा मनपरी मापदण्ड बनाएको भन्दै इटहरीमा चौतर्फी विरोध भएको छ । ६ लेन सडक मनपरी मापदण्डमा बनेको भन्दै इटहरीमा विरोध भएको हो । इटहरीको धरानलाइनमा मनपरी मापदण्ड बनाएको भन्दै इटहरीबासीले विरोध गरेका हुन् ।

इटहरी क्षेत्रमा मनपरी मापदण्ड कायम गरेको भन्दै इटहरीका सुनिल कार्कीले राज्यका लागि सबै जनता समान हैनन् र रु के सम्पत्ति र पहुँचका आधारमा राज्यले जनतालाई फरक व्यवहार गर्न मिल्छ रु भनी प्रश्न गरे । यस्तै यस्तै प्रश्नले आम इटहरीबासीलाई पिरोलिरहेको छ । ‘केही मिटरअगाडि जनताको घरलगायत अनेकन संरचना र जग्गा नै उडाइएको छ । कहीँ नापेर संरचना जगाइएका छन्, के यही हो न्याय रु के यही यो कानूनी राज्य रु’– उनले प्रश्न गरेका छन् ।

नेकपाका युवा नेता मदन चूडालले पनि इटहरी क्षेत्रमा मनपरी मापदण्ड तत्काल रोक्न माग गरेका छन् । सरकारको अर्बौं रुपैयाँको योजनामा खेलाँची भइरहेको भन्दै तत्काल अनुगमन गरेर काम रोक्न माग गरे । सरकार र आयोजनाको बेवास्ताको कारण मनपरी मापदण्ड भएको भन्दै उनले आपत्ति जनाए । इटहरीमा पहुँचवालाको घरअगाडि एउटा मापदण्ड र अर्को ठाउँमा अर्कै मापदण्ड गर्न नहुने उनले बताए ।

इटहरी र तरहरा क्षेत्रमा फरक–फरक मापदण्ड बनाएको भन्दै गोरखा डिपार्टमेण्ट स्टोरअगाडि गालीगलौज गरेको आरोपमा तरहराका नवराज मैनाली पक्राउ परेका छन् । उनले डिपार्टमेण्टअगाडि आएर इटहरी र तरहरा क्षेत्रमा एउटै मापदण्डमा काम गर्न माग गरेका थिए ।

तरहरा र इटहरी चौक एउटै बाटोमा जथाभावी मापदण्ड बनाएको भन्दै उनले विरोध जनाएका थिए । इटहरीको तरहरा क्षेत्रमा सडक विस्तार साढे ८२ फिट नै कायम गरे पनि इटहरीको मुख्यचौकमा भने ठूला व्यापारीको पहुँचले ६५ फिट मात्र किन बनाएको भन्दै मैनालीले डिपार्टमेण्टको सटर तानेका थिए । उनलाई अहिले इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ । मुख्यबजार क्षेत्रमा रहेका धेरै घरहरू भत्कने भन्दै बाटो सानो बनाउन ठूलाबडा लागेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । रानी–विराटनगर–इटहरी–धरान ३९ किलोमिटर सडक–खण्डमध्ये ३४ किलोमिटरमा काम भइरहेको जनाइएको छ । सो सडक योजनाको काम आगामी असार मसान्तसम्ममा सम्पन्न गरिसक्नु पर्ने भए पनि इटहरीमा सीमा कायम गर्ने कामसमेत हुन सकेको थिएन ।

यता ६ लेन सडक आयोजनाका इञ्जिनियर गौतम देवले भने जग्गाअनुसारको मापदण्ड फरक भएको स्वीकार गरे । इटहरी चौक र तरहरा आँपगाछी आसपासमा फरक मापदण्ड भएको देव बताउँछन् । इटहरीको मुख्य चौकमा हाल ६५ फिट मात्र कायम हुने सहमतिअनुसार सडक विस्तारको काम भइरहेको देवको भनाइ थियो ।

पहुँचवालाको घरअगाडि रातभर काम
बहुचर्चित धरान–विराटनगर ६ लेन सडक विस्तार कार्य सुस्त गतिमा चलिरहँदा निर्माण कार्य भइरहेको क्षेत्रहरूमा धुलोको कारणले दिन प्रतिदिन जनजीवन कष्टकर त बन्दैछ । त्यसमाथि यही सडक विस्तारका क्रममा दुई जनाले अनाहकमा आफ्नो अमूल्य जीवनसमेत गुमाइसकेका छन् ।

ठेकेदार र नियामक निकायको मनपरीले अपेक्षाकृत रूपमा सडक विस्तार कार्यले गति लिन नसकिरहेका बेला लामो समयसम्म इटहरी मुख्यचोकमा कति फिटको सडक बनाउने भन्ने विषयमा करिब एक वर्ष विवाद चल्यो र अन्ततः ६५ फिट सडक कायम गर्ने निर्णय भएपश्चात् इटहरीको मुख्यचोकबाट निर्माण कार्य शुरु भएको छ ।

चोकबाट काम शुरु भएपश्चात् ठेकेदार कम्पनी र आयोजनाका प्रतिनिधि रातभर बसी पहुँचवालाको घरअगाडि एकै दिनमा सोलिङ गर्ने काम सम्पन्न गरेका हुन् । यदि यही गतिमा काम गरेको भए अहिलेसम्म ६ लेनको सडक निर्माण सम्पन्न भइसक्ने र सर्वसाधारण सास्ती व्यहोर्नु नपर्ने राय आम सर्वसाधारणले व्यक्त गरेका छन् ।

व्यवसायीको गुनासै गुनासो
इटहरीमा ६ लेन सडक विस्तार भएसँगै चौक आसपासका व्यवसायीहरू करोडौं रुपैयाँ डुब्ने खतरामा रहेको गुनासो गरेका छन् । व्यवसायीहरूको मर्का कसैले नबुझेको इटहरीका होटल व्यवसायी सङ्घका उपाध्यक्ष तेजबहादुर पुरीले गुनासो गरे ।

इटहरीमा लामो समयदेखि व्यवसाय गर्दै आएका पुरीले भने व्यापार–व्यवसाय गरेर खान गाह्रो भयो । ६ लेन सडक निर्माण भइरहँदा व्यवसायीहरूको मर्कामा सरकारले ध्यान दिनुपर्ने बताए । ६ लेन सडकको काम शुरु भएसँगै लाखौं रुपैयाँ घरमा डिपोजिट राखेर व्यवसाय थालेका व्यवसायीहरू मारमा परेको भन्दै यस विषयमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने माग गरेका छन् ।

Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर